हास्य टेलीकलाकार धुर्मुस (सिताराम कटेल) ले अमेरिकाबाट कमेडी सिरिज ‘म त मर्छु कि क्या हो’ ल्याएका छन्। उक्त सिरिज धुर्मुस–सुन्तली युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
सिरिजले छोटो समयमै दर्शकको राम्रो माया पाइरहेको छ। चार दिनमै ७ लाखभन्दा बढी पटक हेरिसकिएको छ। धुर्मुसको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना होस् वा नेपालका नेताहरूले पछिल्लो समय गरेका ठूला कुरा, यी सबैलाई सिरिजमा रमाइलो ढंगले प्रस्तुत गरिएको छ। यससँगै गाउँघरका कुनै व्यक्ति अमेरिका पुग्दा उसले भोग्नुपर्ने भाषालगायतका बाधालाई पनि सिरिजमा समेटिएको छ।
करिब एक वर्षपछि अमेरिकाबाट धुर्मुस–सुन्तली (कुञ्जना घिमिरे) को अभिनयमा कमब्याक भएको हो। कमेडी श्रृंखला ‘म त मर्छु कि क्या हो’ को पहिलो एपिसोड हिट भएको छ।
‘म त मर्छु कि क्या हो’ को प्रसारण भदौको दोस्रो सातामै सुरु गर्ने धुर्मुसले तयारी गरेका थिए। तर रसुवामा विनाशकारी बाढी आएपछि प्रसारण दुई साता पछि धकेलिएको थियो।
धुर्मुसले सामाजिक सञ्जालमा मंगलबार दर्शकलाई धन्यवाद दिँदै लेखेका छन्– ‘नेपालमा सिरियल निर्माण गरेजस्तो सहज वातावरण र आवश्यक स्रोत–साधनको अभाव हुँदा कतिपय अवस्थामा हामीले चाहेजस्तो सुन्दर सिर्जना गर्न नसकेको हुन सक्छ। तर हाम्रो प्रयास, मिहिनेत र भावनालाई तपाईंहरूले बुझिदिनुहुनेछ भन्ने पूर्ण विश्वास छ। बिस्तारै हाम्रा कमी–कमजोरीहरू सच्याउँदै अझ राम्रो गर्दै जानेछौँ।’
लेखन तथा निर्देशन धुर्मुसको रहेको यो सिरिजमा धुर्मुस–सुन्तलीको अभिनय रहेको छ। उनीहरूका अलावा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राईलगायतका कलाकारको अभिनय रहेको छ।
प्रकाशित: ३० भाद्र २०८३ १८:१५ मंगलबार





