नेपाली साहित्यमा भिन्न स्रष्टाको रूपमा परिचित छन् -रणेन्द्र बराली।
बराली २००८ सालमा तनहुँको काहुँ शिवपुरमा जन्मिएका हुन्। बसाइँसराइपछि चितवनमा जीवनको बढी अवधि बित्यो। राजनीतिक तथा दलित मुक्ति आन्दोलनमा लामो यात्रा उनको अर्को परिचय हो। यो यात्रालाई चेतना भर्न उनले लेख, रचना र साहित्यिक रचनाहरू निरन्तर लेखिरहे। नेपाली समाजमा विद्यमान जातीय विभेद र तमाम विसंगतिविरुद्ध साहित्यमा बोल्न उनले आँट राखेका छन्। हाल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका बराली २०७९ मा प्रतिनिधिसभा सदस्यको भूमिका निर्वाह गरेका थिए।
समाजमा कायम जातीय विभेद र समग्र समाजको मुक्ति बरालीका लागि साहित्यिक चेत हो। उनी भन्छन्, ‘साहित्यले विभेदविरुद्ध बोल्नुपर्छ, चाहे महिलामाथिको विभेद होस् या दलितमाथिको विभेद होस्।’
कथित दलित समुदायमा जन्मेकै कारण तत्कालीन समाजमा आफूले र तमाम दलित समुदायले भोग्नुपरेको हेपाइ, विभेद जब थाहा पाउन थाले, बरालीमा विभेदविरुद्धको चेतना हुर्किंदै गयो। जुन विभेदविरुद्ध आफ्ना रचनामार्फत बोल्दै गए।
उनको लेख्ने र पढ्ने समय भनेको राति दुई बजेदेखि बिहान ५ बजेसम्म हो। कक्षा ८ मा पढ्दा २०२२ सालमा भित्तेपत्रिकामा नाटक लेखेर लेखन सुरु भएको हो। त्यसपछि हालसम्म करिब सात दशकको अवधिमा थुप्रै लेखरचनाहरू लेखिसकेका छन्। तीमध्ये पुस्तक कृतिका रूपमा १३ वटा पुस्तक प्रकाशित छन्।
‘अछुत जातीय संघर्ष (केही योद्धाहरूको परिचय) २०३८, परिमार्जित सहित (दोस्रो संस्करण) २०५०, आफ्नै व्यथा (नाटक) २०५६, सर्वजित विश्वकर्मा (जीवनी) २०६५, इतिहासको एक पैका (उपन्यास) २०६५, चीनको कोसेली (यात्रा संस्मरण) २०६६, दलितको दैलो (कथासंग्रह) २०६८, समुद्र पारिको उपहार (नियात्रा) २०६८, हाम्रो संस्कृति र संस्कार (आलेख), दलितलाई हेर्ने दृष्टिमा फूल र काँडा (विवेचना) २०७४, संघर्षशील युग पुरुष भगत सर्वजित विश्वकर्मा (जीवनी) २०७४, रातो बारुद (कविता संग्रह) २०७७ र मुक्ति योद्धा लप्टन लालबहादुर परियार २०८० छन्।
नेपालमा अछुत जातीय संघर्षमा केही दलित योद्धाहरूको दस्ताबेज पनि बरालीले लेखेका छन्। दलित आन्दोलनका अग्रजहरू भगत सर्वजित विश्वकर्मा, टिआर विश्वकर्मा र लप्टन लालबहादुर परियारको योगदान पुस्तकमा समेटिएको छ। पछिल्लो प्रकाशित कृति ‘मुक्ति योद्धा लप्टन लालबहादुर परियार’ जातीय विभेदबारे लेखिएको जीवनी हो। नेपाली सेनाका लप्टन रहेर पनि तत्कालीन राणाशासन, राजनीतिक मुक्ति आन्दोलनदेखि जातीय मुक्ति आन्दोलनको खातिर गरेका संघर्षका आयामहरू समेटिएका छन्। ‘इतिहासको एक पैका’ उपन्यास भने स्वर्गीय कम्युनिस्ट नेता रुपलाल विश्वकर्माको जीवन र संघर्षमा आधारित छ।
उनको अर्को कथासंग्रह ‘दलितको दैलो’मा दलित समुदायले जातीय विभेदका कारण भोग्नुपरेका समस्या र संघर्षको चित्रण गरिएको छ।
बरालीले ‘हाम्रो संस्कृति र संस्कार’मा दलित समुदायले अपनाइरहेको हिन्दु धर्मदेखि भविष्यमा हुने सांस्कृतिक परिवर्तनबारे चर्चा गरेका छन्। उनी भन्छन्, ‘अहिले दलितको हिन्दु धर्ममा आधारित सभ्यता छ, भविष्यमा हुनुपर्ने के हो?’
बरालीले ‘दलितलाई हेर्ने दृष्टिमा फूल र काँडा’मार्फत गैरदलितहरूको दृष्टिकोण प्रस्तुत गरेका छन्।
साहित्यले जातीय विभेदविरुद्धको संघर्षमा प्रभाव
साहित्यले प्रभाव नपार्ने कुनै क्षेत्र हुँदैन। हरेक क्षेत्रमा यसको प्रभाव पर्छ। राजनीतिक परिवर्तनदेखि सांस्कृतिक परिवर्तनमा यसले योगदान गर्छ। साहित्य आफैंमा सशक्त आवाज भएकाले यसले समाजमा पछि परेका, महिला, दलित सबै सीमान्तीकृतहरूको आवाज बोल्ने हुनाले प्रभाव पार्छ। आहुतिको ‘नयाँ घर’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, बालकृष्ण समको ‘सियोको टुप्पो’, ‘दमाई दाइ’, जेबी टुहुरको गीत र शरद पौडेलको उपन्यास ‘लिखे’, श्रवण मुकारुङको कविता, विसेन गिर्चीको बयान, आहुतिको कविता ‘गहुँगोरो अफ्रिका’ र ‘मैले घाँस खान सकिन माल्दाइ’ दलित मुक्ति केन्द्रित कविता हुन्।
आफ्ना रचनाहरू पढेपछि भारतीय गायक मुरलीधर नेपाल आएर आफूलाई खोजीखोजी भेटेको, ‘प्रचण्डको जुँगा र बाबुरामको दारीमा झुन्डिएको मुक्तिको सन्देश’ विषयक लेख मुरलीधरले पढेपछि बरालीलाई भेटेका थिए। आफ्नो रचनाबारे पाउने प्रतिक्रियाले पनि समाजको सोच थाहा पाएपछि ‘काँडा र फूल’ विषयक विवेचना प्रकाशित गरेका थिए।
उनी भन्छन्, ‘जातीय विरोधीले काँडाको आँखाले हेरेका छन्, दलित समुदायले फूलको आँखाले हेर्छन्,’ उनले भने।
नेपालमा मात्र नभई उस्तै जातीय विभेदको समस्या भोगिरहेका भारतका साहित्यकारहरूले साहित्यमार्फत तहल्का नै मच्चाएको बराली बताउँछन्। राहुल सांस्कृत्यायनले ‘बाघको बच्चा घरमा पालेको’, ‘जुकौको राज भागा होइन, दुनियाँको बदलो’जस्ता लेखले विद्रोही चेत भरेका थिए। आफू दलित मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनमा पूर्णकालीन सदस्य भएर लाग्नुमा उनै भारतीय साहित्यकार राहुल सांस्कृत्यायनको प्रभाव भएको उनी बताउँछन्। ‘जब राहुल सांस्कृत्यायनका रचनाहरू पढें, त्यसपछि म पूर्ण रूपमा मुक्ति आन्दोलनमा होमिएको हुँ,’ उनले भने।
विभेदविरुद्धको परिवर्तन मन्द गतिमा
साहित्यकार बरालीको बुझाइमा परिवर्तन मात्राबाट गुणमा विकास हुने चिज हो। यो अकस्मात हुने नभई क्रमिक रूपमा आउने चिज हो। त्यसैगरी दलित आन्दोलनले मुक्तिको खातिर जति संघर्ष गरे, अधिकारको निमित्त जति संघर्ष गरे, त्यति मात्र परिवर्तन आएको छ। विगतको तुलनामा धेरै भएको भए पनि अहिले पनि मानवताको अधिकार, समताको हक, नैसर्गिक अधिकारको हिसाबले हेर्ने हो भने साहित्यिक योगदानमार्फत दलितमाथिको विभेदमा खासै परिवर्तन आउन सकेको छैन।
उनको विचारमा यसको पछि नेपालमा चलेका राजनीतिक मुक्ति आन्दोलन र दलित मुक्ति आन्दोलनले लिएको गतिका परिणाम हुन्। उनी भन्छन्, ‘साहित्य दृष्टान्त हो, साहित्यलाई ग्रहण गर्ने चेतनाले हो।’
जुन चेतना वृद्धि गर्नका लागि राजनीतिक संस्कार चाहिन्छ। नेपाली समाजमा विद्यमान संस्कार कमजोर छ।
साहित्य आफैंमा शिक्षा भएकाले सापेक्षताको आधारमा हेरिनुपर्छ। दलित शिक्षा ग्रहण गर्न नपाएको वर्ग हो भने विभेदविरुद्धको चेत यो समुदायमा मात्र भएर नहुने बरालीको तर्क छ । उनी भन्छन्, ‘जसरी महिला मुक्तिको कुरा महिलाले मात्र बुझेर हुँदैन, त्यसैगरी दलित मुक्तिको कुरा दलितले मात्र बुझेर हुँदैन।’
समाजमा कायम असमानताहरू, विभेदहरू हटाउने जिम्मेवारी दलित समुदायको मात्र नभई अर्को तप्काको जिम्मेवारी हो। ‘दलित साहित्यकारहरूको संवेदनशीलताले मात्र खासै अर्थ राख्दैन,’ उनले भने। नेपाली साहित्यमा लेखिरहेको अर्को तप्का अर्थात् गैरदलित समुदायका साहित्यकारहरूको संवेदनशीलताले खास अर्थ राख्छ।
उनी भन्छन्, ‘जुन तप्कामा देशको समग्र विकास गर्नुपर्छ भन्ने मान्यता छ, उनीहरू एउटा विचार र सिद्धान्त अपनाउँछन्, बहुसंख्यक श्रमजीवी दलित समुदायको हित र संरक्षणका लागि सोच्छन्, उनीहरूको भूमिका आवश्यक हुन्छ।’ यसको अर्थ समग्र मानवजातिको हितमा लेख्ने तप्काका स्रष्टाहरूले यो विषयमा पनि गहन रूपमा लेख्न सक्छन्।
साहित्य समग्र विभेदको पक्षमा उभिनुपर्छ
दलित मुक्ति आन्दोलनको दिशामा नेपाली साहित्य जति सशक्त हुनुपथ्र्यो, उति हुन नसकेको अनुभूति बरालीमा छ। नेपाली साहित्यमा गैरदलितले पस्किने सिर्जनाहरूमा दलितलाई पात्र बनाएका छन्। यो आफैंमा सकारात्मक पक्ष हो तर उनीहरूमा मुक्तिको सवालभन्दा पनि ख्यातिको उद्देश्य बढी देखिन्छ। ‘थुप्रै चलचित्र, गीत, नाटकहरू दलित तथा महिलालाई पात्र बनाएर बनेका छन्, तर उनीहरूमा मुक्तिभन्दा ख्यातिले निर्देशित गरेको देखिन्छ,’ उनले भने।
दलित मुक्ति आन्दोलनको साहित्य उठाउन समग्र मुक्तिको चेत स्रष्टामा हुनुपर्ने बरालीको विश्लेषण छ। जस्तो कि ‘कृष्णबहादुरको सारंगी’ चलचित्रमा दलितको कथाव्यथा उतारिएको छ तर दलित समुदायको अवस्थाले मन खाएर दलितको मुक्ति हुनुपर्छ भन्ने उद्देश्यले बन्न सकेको छैन।
प्रकाशित: १२ वैशाख २०८३ १३:२४ शनिबार





