त्यस दिन दिउँसो जाडो अलि कम भए तापनि २ बजेपछि जाडो ह्वात्तै बढ्यो, पानी त परेको छैन तर कालो बादलले आकाश पूरै ढाकिदियो।
बतास चलिरह्यो । हामी बिबिसी बिल्डिङको बाहिरी भागको अवलोकनपछि दक्षिणपूर्वी मार्ग हुँदै अगाडि बढ्यौं। आइतबार परेकाले सडक केही खुकुलो छ। नोभेम्बर ११ तारिकको अगाडि आउने आइतबारलाई प्रत्येक वर्ष सहिद र राष्ट्रप्रति विशेष सम्मान गर्ने बेलायतीहरूको परम्परा रहेछ। सेनाहरूले वीर सपुतप्रति सम्मान गर्न संसद् भवनअगाडि, प्रधानमन्त्री कार्यालयलगायतका महत्त्वपूर्ण स्थलमा श्रद्धापूर्वक कार्यक्रम गर्छन् रे छोटो रूपमा। त्यही कार्यक्रम हेर्न भनी लन्डनको टावर ब्रिजअगाडि पश्चिम दक्षिणको राजारानीको प्राचीन दरबार अवलोकन गर्न हिँडेका थियौं तर समयमा हामी पुग्न सकेनौं। बेलायतमा सबैभन्दा ठुलो समस्या भनेको गाडी पार्किङको हो तर अमेरिकामा त्यस्तो समस्या अलि कम छ। घरहरू गाडी ग्यारेजसहित निर्माण गरेका हुँदा रहेछन्। सार्वजनिक ठाउँमा जाँदा भने बेलायतका जस्तै समस्या भोग्नुपर्छ त्यहाँपनि।
रेल कुद्ने पुलमुनि गाडी पार्किङ गरेर हामी अघि बढ्याैं। सुश्रुतले गाडी खरिद गरेकाले हामीलाई यातायात गर्न सजिलो भएको छ। हलवर्नमा बेलायतको सर्वोच्च अदालतदेखियो। भदौ २३ र २४ गतेको जेनजी आक्रमणमा परेको नेपालको सर्वोच्च अदालतको याद आयो। दुःख मनाउ गर्नुबाहेक यो ठाउँबाट के नै गर्न सकिन्छ र? हलवर्नबाट अगाडि बढ्दा बेलायतको पुरानो वार्टन अस्पताल देखियो।
विशेषगरी बालबालिकाको उपचारका लागि यो अस्पताल प्रख्यात छ रे। अलि पर खुला चोकसँगै ‘रोयल मिनी कोर्ट’ अर्थात् मुद्रा टंकन विभागको कार्यालय छ। यहाँपनि मुद्राहरू छापिँदो रहेछ। त्यहाँ एकजोडी नेपाली कुरा गर्दै आइरहेको देख्यौं। एकछिन उभिएर संक्षिप्त कुरा भयो। त्यसपछि हामी आआफ्नो बाटो लाग्यौं।
अगाडि पुरानो विशाल क्षेत्रफल ओगटेको राजदरबार देखिन्छ। राजा विलियम कन्टेररले यो दरबार निर्माण सुरु गरेका रहेछन्। यो दरबारको निर्माण कार्य सम्पन्न हुन २५० वर्ष लागेछ। सन् १३९९ मा निर्माण कार्य सम्पन्न भएको रहेछ। त्यसलाई देब्रे पारेर दरबारछेउको सडक भएर हामी अघि लाग्यौं ।दरबारको आँगनी अगाडि त्यसदिन रंगीबिरंगी फूलका बोटहरू हेर्न आउनेको भिड हुन्छ रे।
त्यस दिन त घाँस काटेर आँगन सफा पारेको देखिन्थ्यो। हामीजस्तै विदेशी पर्यटकहरू भरिभराउ थिए, त्यो ऐतिहासिक दरबार अवलोकन गर्न। ऐतिहासिक सो दरबार लन्डनको टावर ब्रिज र अन्य ठाउँहरू केही दिन पहिले होराइजन भवन २२ बाट अवलोकन गरिसकेका थियौं। साथै सुश्रुतले पहिले नै सो दरबारभित्रको इतिहासबारे बताइसकेको थियो। दरबार पुरानो देखिएतापनि निकै बलियो छ रे। खण्ड खण्ड गरी बनाएको सो दरबार अहिले बेलायत सरकारको स्वामित्वमा रहेको छ।

दरबारको दक्षिणी भागमा स्लेट जोडेर बनाइएको ठुलो आँगनी छ, नेपालको वसन्तपुर दरबारक्षेत्रजस्तै। भित्तामा सानो अक्षरमा ‘वल्र्ड हेरिटेज साइट’ र ठुलो अक्षरमा ‘टावर अफ लन्डन’ लेखिएको छ। त्यसको छेउमा उभिएर तस्बिर लिनेहरूको ताँती छ। एकजना अमेरिकी जोडीले खुसी मान्दै हाम्रोपनि तस्बिर लिइदिए। निकै गुनिला रहेछन्। आपसिक परिचयपश्चात् आफूपनि नेपाल एकरात बसेको, नेपालीहरू पाहुनाको स्वागत गर्न सिपालु र इमानदार रहेछन्, नेपालको सम्पत्ति भनेको हिमाल नै हो भनी देश र यहाँका नागरिकको प्रशंसा गरेको सुनेर यो छाति चौडा भयो तर हालैका घटनाक्रमले आफू दुःखी भएको, यसको मूल कारण आफ्नो देशलाई चिन्न नसकेका, राजनीति नबुझेका र भ्रष्टाचार गरेका नेताप्रतिको आक्रोश हो भनी प्रतिक्रिया दिँदै थिए उनी। नेपालबाट उनी हङकङ गएका रहेछन्।
दुईतले पुरानो होटलमा बसी कफी पिउँदै यो संग्रहालयमा परिणत दरबार अवलोकन गर्ने र आआफ्नो क्यामेरामा तस्बिर कैद गर्नेहरू पनि धेरै थिए। लहरै मेयल (क्यानडाको राष्ट्रिय झन्डामा अंकित रुख) का ४ वटा रुखले शोभा बढाइरहेका देखिन्थे। जाडोले गर्दा रुखका पातहरू झर्न लागेका र पहेँला देखिन्थे। जताततै विशेष स्थलहरू छन्। १६/१७ वर्षका युवायुवतीदेखि ८० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकहरू पनि ती दृश्य हेरी आनन्द लिइरहेका थिए।
भ्रमण गर्नु, विभिन्न विषयको जानकारी लिनु पश्चिमा नागरिकको रुचिको विषय नै हो। हामीले पनि बेन्चमा बसी ती दृश्यलाई आँखाभरि कैद गर्यौं। प्रार्थनाले स्वरसम्राट नारायणगोपाललाई सम्झदै ‘यो सम्झिने मन छ, म बिर्सू कसोरी’ गीत गाइन् हुबहु। मैले पनि २०४० सालमा रेडियो नेपालमा रेकर्ड गरेको गीत ‘घर त मेरो सेती गंगा याँ होइन तलकोट’ गाएँ। जननीप्रतिको श्रद्धाभाव कहीं गएरपनि मर्दैन भन्नेभावना जनाएँ। खै के बुझे होलान् र? सँगसँगै बसेका ज्येष्ठ नागरिकले हाम्रो गीत सुन्दै हामीतिर हेरिरहेका थिए।
एटलान्टिक महासागरबाट सानो भंगालो टावर अफ लन्डन ब्रिजमुन्तिर बगिरहेछ। दायाँबायाँ किनारामा ससाना होटल र गगनचुम्बी भवनहरू छन्। हामी ‘टावर अफ लन्डन’बाट त्यतै लाग्यौं। यसभन्दा अघिपनि यही ठाउँको पश्चिम भागबाट यहाँका दृश्य हेरिसकेको भएतापनि मन अघाएको थिएन। हामीले तस्बिर लिएको लन्डन महानगरपालिकाको वडा कार्यालय भवन मर्मत गर्दै रहेछन्। सिसाले निर्मित सो भवन बांगो देखिन्थ्यो। दर्शनीयपनि थियो। टावर अफ लन्डन ब्रिजको पुरै तस्बिर लिन पालो पर्खनुपर्दो रहेछ।
विशेषगरी एसियाली र अमेरिकी मुलुकका मानिसहरू त्यो ठाउँमा भरिभराउ हुँदा रहेछन्। टावर अफ लन्डन ब्रिजका आधुनिक र प्राचीन सभ्यतामिश्रित कला जोडिएका तीन तलाका चार वटा पुल रहेछन्। त्यही पुलबाट सवारी साधन ओहोरदोहोर गरिरहेछन्। सडकपेटीमा पैदलयात्रु हिँडिरहेछन्। रातोबाहेक विभिन्न रङका शोभा दिइरहेको सो लन्डन ब्रिज बेलायतका सयौं दर्शनीय स्थलमध्येको एक हो।
सन् १८८६–१८९४ मा निर्मित सो पुलमा पाइला टेक्न पाउनु पनि भाग्यमानी सम्झिँदा रहेछन् कतिपय पर्यटक। पुलको मुन्तिरपनि सफा सडक छ। प्रतिमिनेटमा सवारी साधन र पैदल यात्रु ओहोरदोहोर गरिरहेछन्। मानौं मानिसको जीवन नै यात्रासँग जोडिएको छ। एकजना फिलिपिनो नागरिकले बाबुआमा र छोराको तस्बिर लिई सहयोग गर्यो। नातिनी शिरसी र बुहारी सुरक्षा नहुँदा भने खल्लो लाग्यो यो बेला। यसभन्दा अघि हामीले पूर्वी भागबाट पुलको अवलोकन गर्दा कतिवटा डन्डी राखेका थिए, याद गरिएन। साथै नदीको नजिक साना पानीजहाज पनि देखिएका थिएनन्।
यसपटक पश्चिमी भागको अवलोकन गर्दा र पुलको पश्चिमी भागबाट अगाडि बढ्दा आठ वटा खम्बा र पानीजहाजमा ओहोरदोहार गर्ने यात्रुहरू बोकिरहेको नजिकैबाट देखियो। पुलको पश्चिमी भागको उत्तरतिर ‘टावर होटल’ छ। यो होटल कफीका लागि प्रख्यात छ। कयौं मानिस होटलमा आगो ताप्दै कफी र चिया पिइरहेका देखिन्थे। त्यही होटलभित्र पसी हामीले लघुशंका गर्यौ। अत्यन्तै सफा र आकर्षक सो होटलअगाडि सिंगारिएको बगैंचापनि छ । त्यहाँ सांगीतिक कार्यक्रमपनि सञ्चालन हुँदो रहेछ।
बेलुका अबेर भइसकेको थियो। त्यहाँबाट बाहिरिँदै थियौं, एकजना मानिस खुसी हुँदै ‘यु वेलकम टु अगेन’ भन्दै थियो। जहाँ अभाव छैन, त्यहाँ खुसी आफंै बाँडिदो रहेछ। मनमा पिर त सबैको होला, तर भौतिक विकासले सम्पन्न मुलुक बेलायतका मानिसमा सन्तुष्टि छ, हाँसो छ र आफ्नो देशप्रति गर्विलो अनुभूति छ। गाडीबाट हामी अघि बढ्दैछौं निवास फर्कनका लागि। अगाडि ‘लन्डन वाल’ (०) लेखिएको देखियो। लन्डन सहरको पुरानो नमुना रहेछ यो। लन्डन सहरको विकासकोसुरुवात यहींबाट भएको रहेछ।
लन्डनको टावर ब्रिजको अवलोकन गर्दा मलाई एक मात्र पिलरमा निर्मित चिसापानीस्थित कर्णाली पुलको याद आयो। यो पुलले सुदूरपश्चिमको सिमाना छुट्याउँछ। २०५२ सालबाट प्रयोगमा ल्याइएको सो पुलको केही भाग मर्मतसम्भार गर्नुपर्ने भन्ने खबर सञ्चार माध्यमबाट थाहा पाएको थिएँ। लन्डनस्थित टावर ब्रिज जस्तै संरक्षण गर्नुपर्छ हामीले हाम्रा राष्ट्रिय सम्पत्तिलाई पनि।
प्रकाशित: ६ मंसिर २०८२ ०६:०९ शनिबार





