थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण र १ रजत पदक जितेको छ। ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका नेपाली टोलीले फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, म्यानमार, श्रीलंकालगायत १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै ऐतिहासिक सफलता हासिल गरेको हो।
ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार एनडिए जुनियर टोलीले जुनियर मेगा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुई स्वर्ण पदक जित्यो। सोही टोलीले जुनियर क्रु विधामा दोस्रो स्थान हासिल गर्दै नेपाललाई रजत पदक पनि दिलाएको छ। त्यसैगरी टिम एनटीले लोकनृत्य विधामा उत्कृष्ट प्रस्तुति दिँदै अर्को स्वर्ण पदक जित्न सफल भयो। खुला विधामा भने नेपाल चौथो स्थानमा रह्यो।
प्रतियोगिताका क्रममा नेपाली टोलीले स्वर्ण जितेपछि प्रतियोगिता स्थलमा नेपालको राष्ट्रिय गान बजाइएको र राष्ट्रिय झण्डा फहराइएको थियो। प्रतियोगिता अवलोकन गर्न पुगेकी नेपाली अभिनेत्री परीक्षा लिम्बुले उक्त क्षण नेपालीका लागि गर्वको विषय बनेको बताइन्। उनका अनुसार विभिन्न देशबाट आएका कला पारखीहरूले नेपाली कलाकारको प्रस्तुति खुलेर प्रशंसा गरेका थिए।
राष्ट्रिय निर्देशक रोशन गहतराजको नेतृत्वमा प्रतियोगितामा टिम एनटी, दि इननेट सोल र एनडिए जुनियर सहभागी भएका थिए। विश्वभरका उत्कृष्ट डान्सर, प्रशिक्षक र कोरियोग्राफरको सहभागिता रहेको प्रतियोगितामा नेपालका चर्चित कोरियोग्राफर जेडी तमू निर्णायकको भूमिकामा रहेका थिए। विश्वस्तरको प्रतियोगितामा नेपाली निर्णायकको सहभागितालाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
प्रकाशित: ४ श्रावण २०८३ १८:०३ सोमबार





