छात्रालाई दुर्व्यवहार गरेको आरोपमा मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेका छन् । छात्रालाई दुर्व्यवहार गरेको प्रकरणमा प्रहरी ४ जनालाई पक्राउ गरेको छ । सोमबार ३ जनालाई र मंगलबार (आज) थप १ जना शिक्षकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार घटनामा संलग्न भई फरार रहेका नृत्य प्रशिक्षक झापा बुद्धशान्ति गाउँपालिका–७ का ३९ वर्षीय भीमप्रसाद नेपाललाई मंगलबार पक्राउ गरेको हो । विद्यालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा विद्यालयका दुई जना शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले सोमबार पक्राउ गरी सकेको छ ।
यसअघि विद्यालयका लेखा अधिकृत र शिक्षक अबिरल मास्के, शिक्षक किशोरलाल गच्छदार र बस चालक प्रदीप भट्टराईलाई पक्राउ गरेको डिएसपी मिश्रले बताए । विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको, सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र प्राप्त उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर घटना थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
विद्यालयले विज्ञप्ती जारी गर्दै घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको शिक्षक र बस चालकलाई निलम्बन गरेको जनाएको छ । घटनाको बारेमा सुक्ष्म र निष्पक्ष तबरबाट अनुसन्धान गर्न प्रहरीले विद्यालय प्रशासनले आग्रह गरेको छ ।
प्रकाशित: ५ श्रावण २०८३ १८:३५ मंगलबार


-600x400.jpg)


