अन्तराष्ट्रिय सम्बन्धहरू सधैं कूटनीतिक दस्ताबेजमा मात्र लेखिँदैनन्। कतिपय सम्बन्धहरू जनताको स्मृतिमा, साहित्यका पानामा र पारस्परिक सद्भावका ससाना घटनामा जीवित रहन्छन्। नेपाल र रुसबिच पनि यस्तै बहुआयामिक सम्बन्ध रहेको छ। सन् १९५६ जुलाई २० मा नेपाल र तत्कालीन सोभियत संघबीच दौत्य सम्बन्ध स्थापना भएको सात दशक पूरा भएको छ। यसै अवसरमा लेखक रामविन्दु श्रेष्ठको ‘नेपाल–रुस सम्बन्धका पाटाहरू’ पुस्तक नेपाली र अंग्रेजी संस्करणमा सार्वजनिक भएको छ।
यो पुस्तक केवल नेपाल–रुस कूटनीतिक सम्बन्धको विवरणका रूपमा मात्र आएको छैन, पुस्तकले दुई देशबिचको राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै आर्थिक, सामाजिक, साहित्यिक, सांस्कृतिक र मानवीय सम्बन्धका विविध पाटा उजागरसमेत गरेको छ। त्यसैले यो पुस्तक दुई देशबिचको सम्बन्धको इतिहास पढ्ने सामग्री बनेको छ, साथै सम्बन्ध कसरी राज्यको सीमाबाट जनताको हृदयसम्म पुग्छ भन्ने बुझाउने साहित्यिक दस्ताबेजका रूपमा समेत पुस्तक देखिएको छ।
तत्कालीन सोभियत संघले नेपालको प्रारम्भिक विकास प्रक्रियामा औद्योगिकीकरण, मानव संसाधन विकास र पूर्वाधार निर्माणका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको इतिहास छ। विकासको प्रारम्भिक चरणमा नेपालले पाएको त्यो सहयोग केवल भौतिक संरचनाको निर्माणमा सीमित थिएन, नेपालको ज्ञान, सिप र प्राविधिक क्षमताको विकासमा समेत रुसले योगदान पुर्याएको थियो। लेखकले यही ऐतिहासिक पृष्ठभूमिलाई पुस्तकमा स्मरण गरेका छन्।
देश–देशको सम्बन्ध सरकारी स्तरमा मात्र कायम हुँदैन, यस्तो सम्बन्ध जनस्तरमा समेत बन्यो बने सम्बन्ध आत्मीय तथा दिगो बन्छ भन्ने सार पुस्तकमा पाइन्छ। नेपाली साहित्यप्रति रुसी विद्वान्हरूको आकर्षण, रुसी साहित्य र संस्कृतिप्रति नेपाली अनुराग, नेपालमा काम गरेका रुसी नागरिकहरूको अनुभव, नेपाली स्रष्टाहरूको रुससँगको सम्पर्क र रुसमा नेपाली संस्कृति तथा पहिचानको उपस्थितिका सन्दर्भ पुस्तकमा आएका छन्। यो पुस्तकको उल्लेख्य पक्ष हो।
यही सन्दर्भमा रुसी विदुषी ल्युद्मिला अगानिनाको नेपालप्रतिको अनुराग विशेष उल्लेखनीय छ। नेपालमा दुई वर्ष बिताएकी उनले नेपाली समाजलाई नजिकबाट नियालेकी थिइन्। इभान गोन्छारोभको सन् १९७० को टिप्पणी ‘गरिबी हट्न नसके पनि नेपाल खुसी मानिसहरूको देश हो’ ले नेपालको आर्थिक अवस्था र नेपाली जनताको मनोविज्ञानलाई एकैपटक चित्रित गर्छ। गरिबीबिच पनि हँसिलो, मेहनती र खुला हृदय भएको नेपाली समाजप्रति एक विदेशीको यस्तो अनुभूति आज पनि अर्थपूर्ण छ।
नेपाल–रुस सम्बन्ध जनस्तरमा रहेका प्रसङ्ग पुस्तकमा ठाउँ ठाउँमा आएका छन्। रसुल गाम्जातोभको भनाइ छ– ‘हिमालय ज्ञानको शिखर हो।’ यो भनाइले नेपालको भौगोलिक उचाइका साथै ज्ञान, रहस्य र आध्यात्मिक केन्द्रका रूपमा नेपाललाई स्किारेको छ। लक्ष्मीप्रसाद देवकोटाका बारेमा ल्युदमिला अगानिनाको श्रद्धा अत्यन्त मार्मिक छ।
सन् १९५९ सेप्टेम्बर १२ मा सोभियत संघको लुना–२ यान चन्द्र धरातलमा पुगेको र त्यसको दुई दिनपछि देवकोटाको निधन भएको थियो। यो संयोगलाई पुस्तकमा जोडिएको छ। अफ्रो–एसियाली लेखकहरूको सम्मेलनमा देवकोटाको सहभागिता र तासकन्दबाट उनले व्यक्त गरेको विश्वबन्धुत्वको चेतना पनि नेपाल–रुस साहित्यिक सम्बन्धको महत्त्वपूर्ण अध्याय हो।
पुस्तकले नेपालमा रुसी व्यक्तित्वहरूको उपस्थिति र नेपाली समाजमा उनीहरूले छाडेको प्रभावलाई पनि सम्झाएको छ। लुम्बिनीमा रुसी बौद्ध मन्दिर, काल्मिकी लोटस स्तुप परिसर पार्क, रुसी एट्नोमिरमा नेपाली हाउस, नेपालमा रुसी व्यक्तित्वहरूका सालिक तथा विभिन्न मैत्री संघसंस्थाका प्रसंगले सम्बन्धलाई भौतिक र सांस्कृतिक प्रतीकहरूसँग जोड्छन्।
त्यसैगरी ‘पर्यटन जोड्छ बैकाल र सगरमाथा’ शीर्षक आफैंमा दुई देशबिचको सम्भावनाको प्रतीक हो। रुसको बैकाल र नेपालको सगरमाथा विश्व पर्यटनका दुई विशिष्ट आकर्षण हुन्। एकातर्फ संसारकै प्रसिद्ध विशाल ताल, अर्कातर्फ विश्वको सर्वोच्च शिखर। यी दुई भूगोललाई पर्यटनले जोड्न सक्छ। पुस्तकले अतीतको स्मरणसँगै भविष्यको सहकार्यतर्फ पनि संकेत गरेको छ। यही कारण ‘नेपाल–रुस सम्बन्ध र सहकार्यका नयाँ सम्भावनाहरू’ जस्तो अध्याय पुस्तकको समसामयिक महत्त्वसँग जोडिन्छ। यस पुस्तकको अर्को उल्लेखनीय विशेषता इतिहासप्रतिको लेखकको दृष्टिकोण हो। समयसँगै राजनीतिक व्यवस्था परिवर्तन हुन्छन्। सोभियत संघ विघटन भयो, रुस नयाँ राजनीतिक र आर्थिक संरचनासहित अगाडि बढ्यो, विश्वव्यवस्थामा व्यापक परिवर्तन आयो। यी उथलपुथलले समेत नेपाल–रुस सम्बन्धमा कुनै अप्ठ्यारो पारेनन्।
‘नेपाल–रुस सम्बन्धका पाटाहरू’लाई नेपाल–रुस सम्बन्धको दस्ताबेज, साहित्यिक पुल र सांस्कृतिक स्मृतिको पुस्तकका रूपमा हेर्न सकिन्छ। यसले दौत्य सम्बन्धको सात दशकलाई सरकारी कागजातको भाषामा मात्र होइन, मानिसका हृदय, साहित्यका अक्षर र सांस्कृतिक अनुभूतिका माध्यमबाट बुझाउने प्रयास गरेको छ।
नेपाल–रुस सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्नेहरूका लागि यो उपयोगी सन्दर्भ सामग्री बन्न सक्छ भने सामान्य पाठकका लागि दुई देशबिचको मित्रताको कथा बुझ्न पठनीय कृति बन्न सक्छ।
प्रकाशित: २० भाद्र २०८३ ०७:४४ शनिबार





