२० भाद्र २०८३ शनिबार
image/svg+xml
खेल

इसाकको दुई गोलमा लिभरपुलको पहिलो जित, आज राति सात खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले इप्सविच टाउनलाई २-० ले पराजित गरेको छ। गएराति पोर्टम्यान रोडमा भएको खेलमा स्विडेनका स्ट्राइकर अलेक्जान्डर इसाकले दुवै गोल गर्दै लिभरपुललाई पहिलो जित दिलाए।

इसाकले खेलको छैटौँ र नवौँ मिनेटमै लगातार दुई गोल गरेपछि लिभरपुलले सुरुआतमै बलियो पकड बनाएको थियो। दुवै गोलमा कोडी गाक्पोको महत्वपूर्ण भूमिका रह्यो।

पहिलो गोलमा गाक्पोको पासलाई इसाकले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली प्रहार गर्दै जाली चुमाए। त्यसको तीन मिनेटपछि गाक्पोले बाहिरी खुट्टाबाट दिएको उत्कृष्ट पासमा इसाकले डिफेन्डरलाई छलाउँदै दोस्रो गोल गरे।

दोस्रो हाफमा लिभरपुलले खेल नियन्त्रणमा राख्दै इप्सविचलाई गोल गर्ने अवसरसमेत दिएन। प्रशिक्षक आन्दोनी इराओलाले ६४औँ मिनेटमा क्लबको कीर्तिमानी अनुबन्ध बनेका ब्राड्ली बार्कोलालाई मैदान प्रवेश गराउँदै डेब्यु गराए।

इराओलाका लागि लिभरपुलको प्रशिक्षक बनेपछि यो पहिलो जित हो। उनले आर्ने स्लोटको स्थान लिएका थिए। स्लोटको नेतृत्वमा अघिल्लो सिजन लिभरपुलको उपाधि रक्षा अभियान कमजोर बनेपछि क्लबले उनलाई बर्खास्त गरेको थियो।

लिभरपुलले सिजनका सुरुआती दुई खेलमा बराबरी खेलेपछि यो जित निकालेको हो। इसाकले भने टोलीले आफ्नो योजनाअनुसार खेल्न थालेको र अझ धेरै गोल गर्न सक्ने बताएका छन्।

यस्तै, प्रिमियर लिगमा आज राति सात खेल हुँदैछन्। खेलको सुरुआत न्युक्यासल युनाइटेड र बोर्नमाउथबीचको प्रतिस्पर्धाबाट हुनेछ। त्यसपछि ब्रेन्टफोर्ड र सन्डरल्यान्ड, ब्राइटन र लिड्स युनाइटेड, फुलहम र क्रिस्टल प्यालेस, म्यानचेस्टर सिटी र कोभेन्ट्री सिटी तथा नटिङ्घम फरेस्ट र टोटनहमबीच खेल हुनेछ। दिनको अन्तिम खेलमा हल सिटी र एस्टन भिल्ला आमनेसामने हुनेछन्।

प्रकाशित: २० भाद्र २०८३ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App