कलाकार तथा निर्माता जीतु नेपालको पछिल्लो समय बक्स अफिस प्रदर्शन कमजोर देखिएको छ। तीन महिनाको अवधिमा उनका निर्माण तथा अभिनय रहेका दुई चलचित्र प्रदर्शनमा आए पनि दुवैले अपेक्षाअनुसारको व्यापार गर्न सकेनन्।
असार ५ गतेदेखि प्रदर्शनमा आएको जीतु नेपालको निर्माण तथा अभिनय रहेको चलचित्र ‘आइएम जितबहादुर’ ले अपेक्षित व्यापार गर्न सकेन। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चलचित्रले प्रदर्शन अवधिभर ३१ लाख रुपैयाँ मात्रै कलेक्सन गरेको थियो। निर्माण लागतको तुलनामा यो रकम निकै कम रहेको बताइएको छ।
त्यसपछि जीतुको अर्को चलचित्र ‘कार्की साइँला’ प्रदर्शनमा आयो। राजेन्द्र बस्नेतको निर्देशनमा बनेको यो चलचित्र भदौ २३ गतेदेखि सिनेमाघरमा प्रदर्शनमा आएको थियो। तर बक्स अफिसमा यसको प्रदर्शन ‘आइएम जितबहादुर’ भन्दा पनि कमजोर रह्यो।
चलचित्र विकास बोर्डका अनुसार ‘कार्की साइँला’ले प्रदर्शन अवधिभर ५ लाख ७८ हजार रुपैयाँ मात्रै कलेक्सन गरेको छ। चलचित्र हेर्न जम्मा १ हजार ६ सय ९६ जना दर्शक पुगेका थिए।
हाल ‘कार्की साइँला’ सिनेमाघरबाट समेत उत्रिसकेको छ। पछिल्लो तीन महिनामा जीतु नेपालको निर्माण तथा अभिनय रहेका दुई चलचित्र लगातार कमजोर व्यापारमा सीमित भएपछि उनको बक्स अफिस प्रदर्शनमाथि प्रश्न उठेको छ।
प्रकाशित: १९ आश्विन २०८३ १७:३३ सोमबार





