२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा आज ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ।

नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो।

त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता तथा समृद्धिको प्रवर्द्धन गर्नुका साथै नेपाल र बङ्गलादेशबीच विद्यमान साङ्गीतिक, कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाउनु हो भने। उनले साझा सांस्कृतिक सम्पदाले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको र जनस्तरको सम्बन्ध तथा आपसी समझदारीलाई निरन्तर मजबुत बनाइरहेको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका संस्कृति मामिलामन्त्री निताइ रोयचौधरीले महोत्सवको प्रशंसा गर्दै यसले नेपाल र बङ्गलादेशका जनतालाई अझ नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले सांस्कृतिक तथा जनस्तरको आदानप्रदानमार्फत मित्रवत् सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सकिने बताए।

बङ्गलादेश शिल्पकला एकेडेमीका महानिर्देशक एसके रेजाउद्दिन अहमद, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल तथा बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोसिउर अहमदले पनि मन्तव्य व्यक्त गरेका थिए।

साथै, पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकार, बङ्गलादेश शिल्पकला एकेडेमीका कलाकार तथा बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।  

कार्यक्रममा सोरठी, सङ्ख्या, लाठी, सालैजो–झ्याउरे तथा कौरालगायत नेपाली मौलिक नृत्य तथा सङ्गीत प्रस्तुत गरिएको थियो। बङ्गलादेशी कलाकारले नेपाली नृत्य र नेपाली गजलका साथै आफ्ना लोकनृत्य तथा साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए।

महोत्सवमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संस्कृति तथा पाककला पारखी, नेपालका शुभेच्छुक, सञ्चारकर्मी तथा बङ्गलादेशस्थित नेपाली समुदायको सहभागिता थियो।

प्रकाशित: २ जेष्ठ २०८३ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App