‘को हो?’ ढोकामा मधुरो आवाज सुनेर वसन्तीले प्रतिक्रिया दिइन्।
उसले सुस्तरी जवाफ फर्कायो, ‘म केशव!’
‘तिमी! यो साँझको बेला यहाँ किन फेरि?’ उनले ढोका खोलिदिंदै आपत्ति जनाइन्।
‘फोनमा खुलस्त जवाफ दिइनौ त्यसैले आएँ!’ बिनाआग्रह सोफामा बसेर उसले वसन्तीको वदन नियाल्दै भन्यो!
‘छोरी आउने बेला भो, फेरि अरूले थाह पाउलान्, तिमी यहाँबाट गइहाल त!’ क्रुद्ध हुँदै वसन्तीले भनिन्।
‘अहिले ऊ साथीसँग खेल्दैछे! फेरि यहाँ अरू को नै छ र थाहा पाउने? म आज तिम्रो त्यो चिज प्राप्त नगरी फर्कन्न। कृपया यो एकपल्ट नाईं नभन वसन्ती!’ उसले उद्वेलित हुँदै भन्यो।
‘म दिँदै दिन्न! यो मेरो इज्जत हो, श्रीमानको नासो हो, यसको हिफाजतका लागि मैले श्रीमानसँग वचन दिएकी छु! म श्रीमानप्रति घात गर्न चाहन्न!’ उनले प्रतिबद्धता जनाइन्।
उसले फेरि आग्रह गर्याे, ‘मलाई बुझ्ने प्रयास गर वशन्ती!’
‘श्रीमानले थाहा पाउनुभो भने मेरो के हुन्छ, सोचेका छौ? फेरि आफन्तले मेसो पाए मेरो इज्जत कहाँ जान्छ? आफ्नो आवश्यकता अरूबाटै पूरा गर केशव! म दिन सक्दिनँ; तिमी यहाँबाट जान सक्छौ! ’ वसन्ती कठोर बनिन्।
‘तिमी र मबाहेक यो कुरा कसैले थाहा पाउने छैनन्। फेरि तिमीबाहेक मेरो अरू को नै छ र? ममाथि विश्वास गर वसन्ती!’ केशवले आश्वस्त बनाउन खोज्यो।
उसको ढिठ देखेर त्यत्तिकै नफर्किने सोचिन् उनले।
‘ठिकै छ उसो भए!’ उनी राजी भइन्।
‘तर समयमै उकासेर फर्काइदिनु नि’भन्दै उनले आफ्नो गलाको हार फुकालेर केशवको हातमा राखिदिइन्।
प्रकाशित: २६ पुस २०८२ १२:४१ शनिबार





