१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

रहस्य कतिकति

लघुकथा

टहटह जून लागेको रात। हरिशरण शौचालयबाट निस्किएर घरतर्फ लम्कियो। शौचालय र घरको बीचमा चोया बाँसको झ्याङ थियो। बाँसको झ्याङ दायाँ भएर घरको बाटो आँगनतिर उक्लिन्थ्यो।

हरिशरण ठ्याक्कै बाँसको झ्याङमा के आइपुगेको थियो, माथि आकाशतिरबाट अनौठो खोला सुसाएको जस्तो स्याँस्याँ आवाज आयो। उसले आकाशतिर हेर्‍याे। जूनको उज्यालोमा भुईंतिर नुहेका बाँसका टुप्पाहरू र ससाना पातहरू सिर्लिङसिर्लिङ बिनाबतासै हल्लिरहेका थिए।

हरिशरणको सातो जान पनि पाएको थिएन कि बिजुलीको गतिमा कालो घना कपालको एक भीमकाय मुठो मास्तिरबाट झर्‍याे र उसलाई सर्पले झैँ बेरेर आकाशतिर कतै लापता भयो। मुठो यति विशाल थियो कि मानौँ हजारौँ स्त्रीको युगौंदेखि पालिएको कपाल होस् ! मुठो, कुनै नाम्लो या बरियोले फेरो लाउन सक्दैन थियो।

हरिशरण गाउँबाट अचानकै गायब भएपछि र उसको मृत शरीर पछिसम्म  पनि नभेटिएपछि गाउँलेहरूले निष्कर्ष निकाले– गाउँलेहरूको ऋण तिर्न नसकेर ऊ गाउँ छोडेर भागेको हो।

आखिर दुःखहरूको कुनै कमी थिएन हरिशरणलाई। टुहुरो केटो एक्लै हुर्केको थियो। विस्तारैविस्तारै गाउँलेहरूको स्मृतिबाट ऊ हराउँदै थियो। ऋणदाताहरूको स्मृतिमा मात्रै ऊ टड्कारै रह्यो।

हरिशरण टिपिएको घटना रूखको टोड्काबाट एउटा बूढो उल्लुले देख्यो। आफ्नो यत्रो उमेरभरिमा यस्तो अनौठो र डरलाग्दो घटना कहिल्यै नदेखेकाले उसको होस त्यसपछि राम्ररी फर्केन। बरू त ऊ बेलाबेला बर्बराउने गर्थ्यो,  “यो धर्तीमा हामी सबै उल्लु हौं। हामीलाई केही थाहा छैन। अहँ, केही थाहा छैन। कहिल्यै नसुल्झिने रहस्य कतिकति! रहस्य कतिकति !”

प्रकाशित: १० जेष्ठ २०८३ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App