घरमा ६४ वर्षीय रामनारायणको विवाह भोज धुमधाम चलिरहेको छ। श्रीमती बितेको १३ औं महिनामा आखिर रामनारायण फेरि अर्को पटक दुलहा बनेरै छाडे।
भोजमा घरपरिवार र आफन्त सबै खुशी छन्। दिदीबहिनीहरू आफ्नो माइतीको फेरि जोडा कसिने भयो भनेर दंग छन्। जेठा छोरो र बुहारी क्यानडाबाट आएका छन्। बाबुको रेखदेख गर्ने नयाँ आमा पाइयो भनेर उनीहरू झनै खुशी देखिन्छन्। एवं रीतले परिवारका जम्मै सदस्य बाबुको हेरचाह हुने भयो भनेर बोझ बिसाएझैं खुशी छन् तर रामनारायणको साहिँलो छोरो नरेन्द्र भने तीनछक्क परिरहेकाे छ।
आफ्नो स्वर्गीय आमाको फोटोअघि उभिएर नरेन्द्र आज बिहान खुबै रोयो। मनमनै भन्यो, ‘आमा दुईदुई वर्षको फरकमा तिमीले हामी दश छोराछोरी पायौ। बीस वर्षसम्म तिम्रो पेट कहिले खाली बस्न पाएन। यी हेर, यो नाथे बाउ स्वास्नीबिना बीस महिना पनि बस्न सकेन। तिमी दु:खी प्राणी हौ आमा! दु:खी प्राणी।’
मानूँ, नरेन्द्रकी आमाकाे तस्विरले माैन भाषामा सम्झाउँदै छ, ‘बाबू, मलाई क्षमा देऊ। मैले अरूलाई जस्तै तिमीलाई बाेल्न र सुन्न सक्ने जन्माउन सकिनँ। सबै बलेकै आगाे ताप्दा रहेछन्।’
प्रकाशित: १३ चैत्र २०८२ ०७:४० शुक्रबार





