आमा
तिमी अल्ट्रासाउन्ड गरी आयौ?
मन दुखी छ
किन?
मलाई था छ
तिमी छोरा चाहन्छ्यौ
वंश वृद्धि
मृत्युसंस्कार
जीवनको ढाल भैदिन्छ भनेर
छोराकी आमा गौरव बढ्छ
जीवन सुरक्षित बन्छ
समाज परिवारमा इज्जत बढाउन
छोरै चाहियो हैन?
म छोरी गर्भमा आएँ
गर्भमै मारिदिन चाह्यौ
साेच, तिमी पनि त छोरी भएरै आमा भयौ
ऐले कि गर्भिणी तिमी
जीवन खोई बुझ्यौ?
विना नारी सिर्जना सम्भव छ?
नारी बिना संसार मरूभूमि हुनेछ
कङ्काल जस्तो
नव सिर्जन ठप्प
दया माया प्रेमको अनिकाल
यो संसार कस्तो होला?
अल्ट्रासाउडको भरमा
तिमी मलाई मार्दैछ्यौ
भिडियो नहुँदा अनगिन्ती सृष्टि
जन्मन्थे बढ्थे सन्सार पूर्ण पार्थे
दुःख मानेनन् वीराङ्गनाहरूले
सधैं खुशी सुखी मातृत्वले
छोरी लक्ष्मीको अवतार
आज
यो मेसिन
ज्यानमारा
गर्भपातको हिमायती
पितृसत्ता पृष्ठपोषक
ईश्वरीय शक्तिलाई हाँक दिने
जाँचेर आयौ?
तिम्रो कमजोर शरीर
तिमीले खुइय्य गर्दा
लामो स्वास लिँदा
मलाई पीडा हुन्छ आमा
पृतसत्ताको पृष्ठपाेषण
बाको इच्छा पूरा गर्न
मलाई मृत्यु दिँदै छ्यौ?
छोरी बिनाको भविष्य
कल्पना गर त
सुवास बिनाको सिमल
आमा
पीडा र एक्लोपनमा बाँच्ने छौ
तिम्रा छोरारूपी ढाल
विद्वान भै अकूत सम्पत्तिका लागि
विदेश जाने छन्
त्यतिखेर
तिम्रो दुःखका आँसु
कसले पो पुछ्लान्?
अभावमा रित्तिने छ्यौ
त्यो बेला
तिम्रो मनको घाउमा
मलम लगाउँछु
स्नेह र मायाले राख्छु
जीवनको सहारा बन्ने छु
सुन्दर सन्सारको उपहार हूँ
सन्सार हराभरा पार्ने
इन्जिनियर कलाकार बन्ने छु
त्यसैले
जन्मदेऊ आया
सन्सार हेर्न देऊ
गर्भमा नमार
गर्भस्थ छोरीको पुकार।
- नीला घिमिरे
प्रकाशित: २८ भाद्र २०८३ ०९:४९ आइतबार


-600x400.jpg)


