१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

आधुनिकताले हराउँदै छन् कर्णालीका संस्कृतिहरू

एक दशक अघिसम्म परम्परागत संस्कृति समाजको प्रतिबिम्वकाे रूपमा थियो। जसले समाजका हरेक पाटा पक्षबारे बोल्दथ्यो। समाजको एक अभिन्न अंग थियो संस्कृति। संस्कृति इतिहाससँग जोडिएको हुन्थ्यो। पुर्खाहरूको पौरख, रीतिरिवाज र चालचलनको पर्याय ठानिन्थ्यो तर पछिल्लो समयमा आधुनिकताको प्रवेशसँगै संस्कृति हराउँदै गएकाे छ।

सिंजा गाउँपालिकाका शेरबहादुर बुढा आधुनिक संस्कृतिले परम्परागत संस्कृति हराउँदै जान थालेकोमा निकै चिन्ता थपेको बताउँछन्। उनले भने, ‘पुरानो पुस्ता सकिँदै जानु र नयाँ पुस्ताले संस्कृति संरक्षण गर्न नसक्नुले निकै चिन्तित छौं। ’शहर केन्द्रित आधुनिक संस्कृति एकपछि अर्को गर्दै ग्रामीण क्षेत्रमा प्रवेश गरेको छ। यहाँको  पहिरनमा आधुनिकता झल्कन थालेको छ। झोडा, देउडा, रत्यौली, मागल, धारु, छैटी, आरती, हुड्के नाच, बालो चम्फा नाच हराउँदै गएकाे छ। मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएको उनी बताउँछन्।

कर्णाली खस सभ्यताको केन्द्र हो। खस भाषाको उद्गमस्थल पनि तर कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै जाँदा यहाँको अस्तित्व संकटमा पर्न थालेको हो।

पातारासी गाउँपालिका लग्नमाया बोहोरा पश्चिमेली संस्कृति र शहरी क्षेत्रको पहिरनले जिल्लाको पुर्ख्याैली संस्कृति र पहिरन ओझेलमा बताउँछिन्। उनले भनिन्, ‘अहिलेका पुस्ता शरीरभरि ढाक्ने लुगा लगाउँदैनन्, विदेशी संस्कृतिको महिमाागान गाउँछन्। आफ्नो संस्कृतिकाे घृणा गर्छन्। त्यसको परिणाम अहिले यहाँको संस्कार र संस्कृति हराउँदै गएकाे छ।’

पुरानो पुस्ताले युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न सक्दैन्, नयाँ पुस्ताले पुरानो संस्कृति सजिलैसित ग्रहण गर्न मान्दैन्, यी दुई पुस्ताको वैमनस्यले संस्कृति धरापमा पर्न थाल्यो। उनले भने,‘संस्कृति र सभ्यता संकटमा पर्दा पुर्खाहरूको चिनो धरापमा पर्ने देखिन्छ।’

अहिलेका पुस्ता बजारमा निस्केका आधुनिक गीतसंगीतमा रमाउँछन्। लोकसंस्कृतिप्रति वास्ता गर्दैनन। यस्तै कालो बुढा भन्छन्, ‘बाजेबज्यैको पालामा गाइने झोडा, मागल, धारु, रत्याउली, छैटी, बालो, लगायत गीत लोप अहिले सुनिन छाडेका छन्। यो राम्रो होइन।  विगतमा वनपाखामा गुन्जिने देउडा गीत, ठाडी भाका, सवालजवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएका छन्।’

विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजा लगायतमा गाइने गीत लोप हुँदैछन्। दुई समूहमा भेला भएर महिलाले गाउने झोडा गीत अहिले विरलै सुनिन्छ। दशक अघिसम्म १० र १५ महिला आपसमा सवालजवाफ गर्दै यो गीतमा रमाउँथे।

जुम्लाका गाउँबस्तीमा महिलाले लगाउने गुन्यूचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको छ। घरमै उत्पादित ठेटुवाबाट बनेका दौरासुरुवाल पुरुष लगाउँथे। महिलाले धोती र चोलो समेत ठेटुवाकै हुन्थ्यो। त्यो कपडा चिसो र तातो मौसम दुवैमा अनुकूलता थियो।

बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोसाक हराउन थालेको छ। पुर्खाहरूले लगाउने पहिरनको कुनै अवशेष नै छैन। पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेका छन्। बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा पन्चेबाजा संकटमा परेको गाउँका धामीझाँक्रीहरू बताउँछन्।

विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको छ। विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन्। अहिले सुन र चाँदीका विभिन्न गहना समेत गाउँघरमा देखिन छाडेका छन्।

गाउँबस्तीमा ६० कटेका वृद्धाले समेत विरलै परम्परागत गहनाको प्रयोग गर्ने गरेका छन्। खुट्टामा लगाइने कल्ली र पैरा, हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, साङ्ला, मुगामाला, डोरी, ढुंग्री, कालो, पहेंलो, सेतो पोते, कपुर्ने माला लगायत पुराना गहना गाउँमा लगाउन छाडेको पातारासी गाउँपालिका ४ की सम्झना बोहोरा बताउँछिन्।

संस्कृतिसँग सम्बन्धित परम्परागत मागी विवाहमा नाचिने हुडे नाच लोप हुने अवस्थामा छ। मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको स्थानीय बताउँछन्।

दशक अघिसम्म मंसिर र माघ महिनामा गाउँघरमा बिहेका पन्चेबाजा खुब सुनिन्थे, हुड्केलाई पनि भ्याइनभ्याइ हुन्थ्यो। शेरबहादुर भन्छन्,‘ तर अहिले त गाउँमा विवाह भए नभएबारे थाहा पाउन एक हप्तासम्म लाग्छ। पहिले बिहे हुँदा पुरुष जन्ती जाने र महिला राति बेहुलाको घरमा जम्मा भई रत्यौली खेल्ने, मागल चुट्किला गाउने परम्परा थियो।

जन्तीलाइ पानी खन्याउने चलन थियो। ’बिहेको पछिल्लो दिन दौरा लगाएर हातमा डमरु जस्तै देखिने हुड्को समातेर दुई सहयोगी जोल्याको साथमा पुराना वीर (पैकेला) हरूका कथा  भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने प्रचलन हुन्थ्यो।

आजभोलि त जन्ती जाने चलनै हरायो। बिहेमा खुब नाचिन्थ्यो, गाइन्थ्यो, हुड्को बजाइन्थ्यो, उनले भने,‘ तर अहिलेका पुस्तालाई हुडबारे केही थाहा नै हुँदैन। ’संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार छन्। यो संस्कृति संरक्षण गर्नेप्रति तीनै सरकारको ध्यान जान सकेको छैन्।’

प्रकाशित: ६ मंसिर २०८२ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App