१६ वैशाख २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

भ्रामक यथार्थ

लघुकथा

'उपचारकाे क्रममा लेखककाे निधन' भन्ने खबर मिडियामा एकाएक भाइरल बनेकाे थियाे। त्यस लगतै ती दिवंगत लेखककाे चाैतर्फी गुणगान चल्न थाल्याे। उनका कृतिहरूलाई उत्कृष्ट कृतिकाे उपमा दिइँदै थियाे। उनका उद्गारहरू उद्धृत गरिँदै थिए। साहित्यिक फाँटमा अपूरणीय क्षति पुगेकाे चर्चा-परिचर्चा चलिरहेकाे थियाे। अस्पतालकाे शय्याबाट टिभी हेर्दै गरेका एक वृद्ध बिरामी भने त्याे खबर हेर्दै हाँसिरहेका थिए। उनकाे प्रतिक्रिया देखेर नर्सले गम्भीर हुँदै सोधिन्, “देशमा एउटा प्रख्यात लेखक मरेकाे छ, तपाईं भने हाँस्दै हुनुहुन्छ त बा?”

वृद्ध प्रसन्न मुद्रामा बाेले, “यस्ताे सुखद खबर सुन्न नपाएको भए याे जीवन पूर्ण रूपमा असफल हुने थियो नानी!”

वृद्धकाे जवाफले नर्स छक्क परिन्। उनले आँखीभुइँ उचाल्दै भनिन्, “कसैकाे मृत्युकाे खबरमा तपाईं यसरी कसरी हर्षाेल्लास मनाउन सक्नुहुन्छ, बा? त्याे ठाउँमा कथंकदाचित तपाईं हुनुभएकाे भए?”

वृद्ध - बेडमा जुरुक्क उठे र मुस्कुराउँदै भने, “त्याे लेखक म नै हुँ नानी!”

प्रकाशित: १६ वैशाख २०८३ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App