समकालीन नेपाली उपन्यासको विकासक्रम नियाल्दा पछिल्ला दशकहरूमा सामाजिक यथार्थ, राजनीतिक संक्रमण, पहिचानको विमर्श, प्रवासजन्य अनुभव, लैङ्गिक चेतना तथा मानवीय अस्तित्वका जटिल प्रश्नहरू प्रमुख विषयवस्तुका रूपमा स्थापित भएका छन्। यथार्थको चित्रणभन्दा माथि उठेर जीवनका बहुआयामिक अन्तर्विरोधहरूको दार्शनिक व्याख्या गर्ने कृतिहरूको आवश्यकता बढिरहेका बेला ‘मञ्जरा’ समकालीन नेपाली उपन्यास परम्परामा विचारोत्तेजक र विमर्शयोग्य कृतिका रूपमा देखा परेको छ। यसले आफ्नो समयको चित्रण मात्र गर्दैन, समयलाई प्रश्न गर्दै परिवर्तनको सम्भावित दिशातर्फ पनि संकेत गर्दछ।
जीवन र जगतका अनगिन्ती सङ्घर्षको गर्भबाट जन्मिएको उपन्यासकार बालकृष्ण गजुरेलको ‘मञ्जरा’ एउटा उपन्यास मात्र होइन, नेपाली समाजको चेतना र चिन्तनलाई नयाँ दिशातर्फ उन्मुख गराउने वैचारिक पनि कृति हो।
लेखकले समकालीन जीवन, समाज र राजनीतिका जटिल मोडहरूमा अनुभूत पीडा, विसङ्गति, अन्याय, आशा र परिवर्तनका सम्भावनालाई कलात्मक संवेदनशीलता र बौद्धिक प्रौढताका साथ प्रस्तुत गरेका छन्।
यथार्थको चित्रणसँगै त्यसका कारण र परिणामको विश्लेषण गर्दै लेखकले समाजलाई पुनर्विचार र रूपान्तरणतर्फ उन्मुख गराउने दृष्टि प्रस्तुत गरेका छन्।
‘मञ्जुरा’ ले पाठकलाई परम्परागत चिन्तनको सीमाबाट बाहिर ल्याई विकास, वैज्ञानिक चेतना, तार्किक विवेक र मौलिक आधुनिकीकरणको दिशातर्फ प्रेरित गर्छ। समानता, सामाजिक न्याय, सांस्कृतिक आत्मपहिचान र नवप्रवर्तन समेट्दै यसले वर्तमान नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणलाई गम्भीर रूपमा आत्मसात् गरेको छ। त्यसैले यो कृति साहित्यिक उपलब्धि मात्र नभई समकालीन नेपाली बौद्धिक विमर्शको महत्त्वपूर्ण दस्तावेजका रूपमा पनि ग्रहणयोग्य छ।
प्रेम, असमानता, राजनीति, दर्शन, नैतिकता, प्रकृति, संस्कृति र आध्यात्मिक चेतनाका विविध आयाम समेट्दै ‘मञ्जुरा’ ले पाठकलाई आत्ममन्थन, विवेकशीलता र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्छ। प्रत्येक अध्यायले नयाँ प्रश्न उठाउँछ र स्थापित मान्यतामाथि पुनर्विचार गर्न बाध्य बनाउँछ। यही कारण ‘मञ्जरा’ समकालीन नेपाली साहित्यमा पठनीय मात्र होइन, मननीय, चिन्तनीय र दीर्घकालसम्म स्मरणीय रहने सशक्त उपन्यासका रूपमा स्थापित हुने विश्वास गर्न सकिन्छ।
प्रकाशित: २९ असार २०८३ १३:४४ सोमबार





