तिहारको लक्ष्मीपुजाको दिन अभिनेत्री पूजा शर्मा ‘महादशा’ मा अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य अभिनेत्रीको रूपमा अनुबन्ध गरेको हो।
फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यो अवसरमा आफू फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्।
निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यो फिल्मका लागि यसअघि निरुता सिंह, उत्तम प्रधान, हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्।
त्यस्तै अन्य कलाकारमा विनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देवकोटा, पुस्कर भट्ट, दिनेश काफ्ले, रन्जन कोइराला, युविकराज शाह, स्मृति कल्मर, एलिज पुन लगायतको अभिनय रहने छ।
निरुता र उत्तम कालजयी फिल्म ‘दर्पणछाया’ को जोडीको रूपमा लोकप्रिय छन्। उत्तम र निरुतासँगै अब पूजा शर्माको पनि दमदार अभिनय यो फिल्ममा दर्शकले हेर्न पाउँदै छन्। पूजा पछिल्लो समयकी चर्चित अभिनेत्री हुन्।
निर्देशक किरण नेपालीका अनुसार यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रूपमा प्रस्तुत गर्ने छ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष गौतमको पटकथा,राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रूपमा छन्। लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रूपमा आउन लागेका छन्।
प्रकाशित: ४ कार्तिक २०८२ १६:४१ मंगलबार





