निर्देशक सञ्जय लिला भन्सालीको सन् २००२ मा सार्वजनिक भएको चलचित्र ‘देवदास’ को चर्चित गीत ‘डोला रे डोला’को छायांकनसँग सम्बन्धित एउटा रोचक विषय सार्वजनिक भएको छ। यो चलचित्रको गीतको छायांकनको समय बलिउड अभिनेत्री माधुरी दीक्षीत चार महिनाकी गर्भवती थिइन् र उनलाई उच्च ज्वरो पनि आएको थियो। तर पनि उनले कुनै स्टेप परिवर्तन गर्न नमानी पूर्ण समर्पणका साथ छायांकन जारी राखिन्। कोरियोग्राफर सरोज खानकी सहयोगी रुबिना खानले एक युट्युब च्यानललाई अन्तर्वार्तामा यस्तो दाबी गरेकी थिइन्। उनको यो दाबीले खुब चर्चा पाएको थियो।
कोरियोग्राफर सरोज खान कोरियोग्राफर सरोज खानको टोलीमा काम गरेकी रुबिना खानका अनुसार “डोला रे डोला” गीतको छायांकन १७ दिनसम्म चलेको थियो भने करिब एक महिनासम्म तयारी गरिएको थियो। गीतमा रहेको एउटा कठिन स्टेपका कारण माधुरीलाई गर्भावस्थामा चक्कर आउने समस्या भएको थियो, तर उनले हार मानिनन्। त्यसबेला ऐश्वर्या राय बच्चन र माधुरी दुवैले कडा मेहनतका साथ तयारी गरेका थिए।
यी सबै अफवाहको खण्डन गर्दै माधुरीले आफैँले सत्य स्पष्ट पार्दै भनिन्, “ चलचित्र जुलाई १२ प्रदर्शनमा आएको हो भने मेरो मेरो छोराको जन्म मार्च १७ सन् २००३ मा भएको थियो, अब तपाईँ आफैँ हिसाब लगाउन सक्नुहुन्छ।” माधुरीले एक अन्तर्वार्तामा यो अफवाहलाई यस्तो प्रतिक्रिया दिएकी हुन्। माधुरीले थपिन कि ‘डोला रे डोला’ गीतको छायांकन वास्तवमै शारीरिक रूपमा निकै थकाइपूर्ण थियो, तर यसको कारण गर्भावस्था भने बिल्कुलै थिएन। उनले आफू गर्भवती भएको भन्ने दाबीलाई अस्वीकार गर्दै उक्त अफवाहमा कुनै सत्यता नभएको बताइन्।
यो चलचित्रको सबैभन्दा स्मर्णीय क्षण नै ऐश्वर्या र माधुरीको नृत्यलाई मानिन्छ। सरद चन्द्र चट्टोपाध्यायको सन् १९१७ मा प्रकाशित प्रसिद्ध उपन्यासमा आधारित यस फिल्ममा शाहरुख खानले देवदास , ऐश्वर्या रायले पारो र माधुरीले चन्द्रमुखीको कालजयी भूमिका निभाएका थिए। यो चलचित्र आज पनि हिन्दी सिनेमाका सबैभन्दा उत्कृष्ट, भव्य र स्मरणीय चलचित्रहरू मध्ये एक मानिन्छ।
प्रकाशित: १७ जेष्ठ २०८३ २०:१३ आइतबार



-600x400.jpg)

