विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ। भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई युरोपको आइआइइचएसआर विश्वविद्यालयले उनलाई विद्यावारिधि प्रदान गरेको हो।
डा. उपाध्यायलाई साहित्य (डी लिट) मा उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको हो। विश्वविद्यालयका प्रतिनिधि जेम्स केरी र अन्य प्रतिष्ठित अतिथिहरूले डा. उपाध्यायलाई उक्त मानार्थ विद्यावारिधि प्रदान गरेका थिए।
समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेका छन्। यो उनको नवौं मानार्थ विद्यावारिधि हो। डा. उपाध्यायलाई अमेरिका लगायत अन्य विश्वविद्यालयले आठ मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन्।
डा. उपाध्यायले गीत र साहित्यमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
उक्त समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो। डा. उपाध्यायले गीत, सङ्गीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन्।
यस्तै उनका एक दर्जन बढी उपन्यास, तीन गीतिपुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन्। दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन्। उनको पछिल्लो उपन्यास ‘आशक्ति’ हाे।
प्रकाशित: ५ पुस २०८२ १२:०० शनिबार





