९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

सुन्दरीको साथ चाहे सुन जत्तिकै डढ्न सिकौं!

मुक्तक

१) मुक्तक

धेरै अग्लो माथ चाहे सगरमाथा चढ्न सकौं

सुन्दरीको साथ चाहे सुन जत्तिकै डढ्न सिकौं

डढ्न चढ्न लड्न बढ्न केही पनि नसक्नेले

रुनारानी छिचोलेर सबै बुझी पढ्न सिकौं।

२) मुक्तक

दुईचार पटक धोका दियौ पछ्याउँदै आयौ किन

दिन केही नजानेर लिन मात्रै धायौ किन

एकै सिरान सुत्नेले त विश्वासघातै गरिसके

एउटै घाम ताप्छौं भन्दै व्यर्थै साइनु लायौ किन?

३) मुक्तक

छाती दह्रो सोच्नेहरू यसै कानुन मिच्छु भन्छन्

सर्वेसर्वा आफैं सोची सबैको ध्यान खिच्छु भन्छन्

समर्थक र दर्शकको भीड छुट्याउन नसकेर

मतदाताको मन देखेझैं सबै चुनाव जित्छु भन्छन्।

४) मुक्तक

खोलेफाँडो बन्नुभन्दा खीर बन्न गाह्रो हुन्छ

धनुभन्दा पनि यहाँ तीर बन्न गाह्रो हुन्छ

सङ्घर्ष र कर्मबिना कोही महान बनिँदैन

वीरका सन्तान बन्नुभन्दा वीर बन्न गाह्रो हुन्छ।

५) मुक्तक

गर्वले प्रेमको नसा पिउँदै गरेको कुरा

म गर्छु हर्षले अझै सिउँदै भरेको कुरा

मन कहिले बदल्यौ कुन्नि मैले थाहै पाएनछु

गर्छ्यौ म जहिल्यै जिउँदै मरेको कुरा।

प्रकाशित: ९ फाल्गुन २०८२ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App