४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘दरबारको कानुन’ सार्वजनिक

उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ लोकार्पण भएको छ ।  अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकले उक्त उपन्यासलाई बजारमा ल्याएको हो ।  

समीक्षक डा.अम्बिका अर्यालले गल्ती गर्नेले छाती फुकाएर हिंडेको र गल्ती नगर्नेले यातना खेपिरहेको तीतो यथार्थ उपन्यासमा समेटिएको बताइन् ।  

त्यस्तै डा.यज्ञेश्वर निरौलाले नमिता–सुमिता काण्डमा आधारित उपन्यासमा मान्छेको क्रूरताको चित्रण गरिएको बताए । यस्तो घटना नदोहोरियून् भन्ने सचेत गराउन उपन्यासकारको ध्येय हुन सक्ने पनि उनले बताए ।  

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले डायास्पोरिक स्रष्टाहरूले नेपाली साहित्यको समृद्धिका लागि उल्लेख्य भूमिका निर्वाह गरिरहेको बताउँदै लेखकलाई शुभकामना दिएका थिए ।  

विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले लेखककै उपस्थितिमा अन्तरसंवाद कार्यक्रम भएको खण्डमा उपन्यासमा उल्लेखित घटनाहरुका तथ्यमा जानकारी हुने थियो भन्दै कृति सफलताको लागि शुभकामना व्यक्त गरे ।  

त्यस्तै महाकाव्यकार खेमनाथ दाहालले कठोर साधनामा लेखिएको उक्त उपन्यासले यस विषयमा उपन्यास वा अन्य कृति वा लेखन सामग्री लेख्न चाहनेहरूलाई सन्दर्भ सामग्रीको काम गर्ने बताए ।  

प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपालले नमिता–सुमिता काण्डको विषयमा आफूले धेरै पहिले कविता लेखेको स्मरण गर्दै अहिले उक्त काण्डलाई प्लट बनाएर उपन्यास नै बजारमा आउनु चानचुने कुरा नभएको बताए ।  

साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालले आफू पत्रकारिता पेशामा भएका कारण उक्त घटनाका विषयमा आफूले तात्कालीन समयमा धेरै नै समाचारहरु प्रकाशित गरेको कुरा स्मरण गरे । दाहालले शक्तिको आडमा अ‍ैले पनि त्यस्ता घटना भइरहेको कुरा जानकारी गराउँदै त्यस्ता घटनाहरुका उदाहरणसमेत प्रस्तुत गरेका थिए ।  

उपन्यासकार न्यौपानेका हराएका कैदीहरू (कवितासंग्रह), यात्राको बङ्गालादेश (यात्रासंस्मरण), अन्तिम घुट्को (कथासंग्रह), उल्टो रिस (उपन्यास), कङ्गो र इथोपियाको सेरोफेरो (नियात्रासंग्रह), बर्मा र थाइल्यान्डभित्र नेपाल (नियात्रासंग्रह), दरबारबाहिरकी महारानी (उपन्यास), खण्डहर दरबार (उपन्यास) प्रकाशित कृति हुन् ।  

लोकार्पित उपन्यास ब्रदर बुक्स प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो । बद्री अधिकारीको डिजाइन र आवृत्ति छापाखानाको मुद्रण रहेको छ ।

प्रकाशित: १८ पुस २०८२ १६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App