प्राडा अजय रिसालकाे ‘मनका कथा’ पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानमा लोकार्पण भएकाे छ।
भाषाविद् बलदेव अधिकारी ‘गाउँले’ को प्रमुख आतिथ्यमा प्रा. नन्दिता शर्मा, डा. अनन्त अधिकारी, लेखक प्राडा अजय रिसाल, प्रकाशक पुष्पराज पौडेलले कृतिकाे लोकार्पण गरेका हुन्।
किताबमाथि बोल्दै प्रमुख अतिथि बलदेव गाउँलेले किताब सम्पूर्ण घरका लागि उपयोगी र प्रत्येक अभिभावकले पढ्नुपर्ने बताए।
स्वास्थ्य बिग्रेपछि उपचार गर्नुभन्दा पहिला नै सहज हुन किताब उपयोगी हुने डा. अनन्त अधिकारीले किताबमाथि बोल्दै समग्रमा मानसिक स्वास्थ्यबारे जान्न, बुझ्न र खोज्नेहरूका लागि प्रस्तुत कृति उपयाेगी ओखती बन्न सक्छ भन्नेमा कुनै सन्देह नभएकाे बताए।
प्राडा नन्दिता शर्माले मनोविज्ञानको क्षेत्र यो पुस्तक महत्त्वपूर्ण रहेको र विद्यालय, कलेज, विश्वविद्यालयका लागि अति उपयोगी रहेको सबै विद्यार्थीका लागि पढ्नै पर्ने पुस्तक बताए।
लेखकले आफूले सबै यस सक्दो प्रयास गरेको र सबैका लागि उपयोगी हुने विश्वास लिएको बताए।
शिखा बुक्सले प्रकाशित गरेको यस पुस्तक किताबमा मानसिक स्वास्थ्य प्रतिकूल पार्नमा खास भूमिका निर्वाह गर्ने केही प्रतिनिधि समस्या उल्लेख गर्दै विभिन्न २९ शीर्षक समेटिएका लेख समावेश छन्।
नेपाली मनका मौलिक कथा–व्यथा, मनका कथाभित्रका भ्रम अनि वास्तविकता, उदास मन (डिप्रेसन) को कथा, औंसी–पूर्णे रोग (बाइपोलार डिसअर्डर) को कथा, आधा आकाशको भिन्न कथा, नशामा डुब्ने मनका कथा, हिंसाभित्र लुकेका मनका कथा, भ्रममा पिल्सिएका मनका कथा, तनावग्रस्त मनका कथा, विपत्तिकालका मनका कथा, दीर्घरोगीहरूको मनका कथा, प्रौढवर्गको मनका कथा, किशोर अनि युवावर्गको मनका कथा, महामारी बन्न सक्ने ‘मनका कथा’, ‘निद्रा’भित्र लुकेका ‘मनका कथा’, अस्पताल धाइरहनेहरूका ‘मनका कथा’, विचार या कार्य बारम्बार दोहोर्याइरहनेहरूका ‘मनका कथा’, समाजबाट भाग्नेहरूका ‘मनका कथा’, ‘शङ्कालु मन’ हरूका कथा, बालमन अनि अनुशासनको कथा, कोरोनाकालीन मनका कथाहरूका विविध आयाम, आफैलाई सिध्याउने मनका कथाहरूका विविध आयाम, शिक्षकहरूका मनका कथा, आधुनिक विश्वको मनका कथा, विदेशिने मनका कथा, टाउको दुख्ने व्यथाका कथा, कार्यस्थलभित्रका मनका कथा, आफ्नै पेशाभित्रका कथा, मेरो भन्नु अब यत्ति नै समावेश छन्। उक्त पुस्तककाे मूल्य ६७५।– छ।
प्रकाशित: ११ श्रावण २०८३ ०८:२३ सोमबार





