‘हाई राज!’ ज्याक र राजेन्द्र एकैपटक प्रवेश गर्दा मूल प्रवेशद्वारको छेउमा ज्याकले पहिला अभिवादन गर्याे।
मुसुक्क हाँस्दै राजेन्द्रले पनि एक हात उठाएर प्रत्युत्तर फर्कायो। दस वर्षपछि पहिलो पटक आफ्ना बुबाआमाको हातको टीका लगाउन आफ्नो देश गएर फर्केपछिको पहिलो दिन थियो काममा आज उसको।
ग्रीनकार्ड बनाउने चक्करमा बुबाआमासँग बसेर चाड नमनाएको धेरै भएको थियो। आफ्नो सिफ्ट सुरु हुन दस मिनेट बाँकी रहेकाले कम्पनीको क्याफेबाट एक कप कफी लिएर टेबलमा बस्यो। मोबाइलमा आफ्ना नेपाल बसाइका सम्झनाहरू तस्बिरमा हेर्न थाल्यो।
‘आफ्नो देश भनेको आफ्नै हुने।’ आफ्ना मान्छे हेर्दै मनमनै भन्यो।
हिमाल हेर्याे, हरियो डाँडा हेर्याे, यसपटकको नेपाल बसाइमा पैदलयात्रा गरेको गोसाइँकुण्ड हेर्याे अनि अष्टमीको दिन गएको बाग्लुङ कालिका मन्दिर हेर्याे।
‘देश त हाम्रै राम्रो।’ उसले मनमनै भन्यो तर आवाज बाहिर नै आए जस्तो भयो।
‘ल अब भित्र पस्ने बेला भयो।’ ज्याकले आफ्नै भाषामा भन्दा उ केही झस्क्यो। ज्याक पनि उसँगैको मेचमा रहेछ तर उसले थाहा पाएको रहेनछ। ज्याकले त फ्याक्ट्री टोपी र पन्जा लगाइसकेको रहेछ। यहाँ आएदेखि नजिकको मित्रता भएको थियो उनीहरूको। उसले पनि झटपट आफ्नो टोपी र पन्जा लगाउन लाग्यो।
ज्याकले छोटो प्रश्न गर्याे, ‘कहिले आयौ, हिजो?’
‘अस्ति आएँ। हिजो कोठामा व्यवस्थापन गर्न दिनभर लाग्यो। आजबाट काममा आएँ।’ राजेन्दले भन्यो।
हल्का मुस्कुरायो ज्याक अनि अलि परको कम भिड भएको प्रवेशद्वारतर्फ देखाउँदै उनीहरू भित्र पस्न तरखर गरे। ज्याकले पुन: प्रश्न गर्याे, ‘के रहेछ त तिम्रो बुबाको देशको हालखवर?’
प्रकाशित: ८ कार्तिक २०८२ ०९:४४ शनिबार





