पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘निजामती प्रशासनमा कोतपर्व’ सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन भएको हो।
केसल्या प्रकाशनद्वारा प्रकाशित यस पुस्तकमा १० अध्यायमा निजामती प्रशासनको उतारचढाव समेटिएको टिप्पणी समीक्षकहरूले गरेका थिए।
पुस्तकमा नेपालको निजामती प्रशासनको विकासक्रम, त्यसमा विदेशीको संलग्नता र भूमिका, प्रशासन एवम् राजनीतिक सम्बन्ध, निजामती प्रशासनप्रतिको राजनीतिक व्यवहारका कारण यस क्षेत्रले भोग्नुपरेका परिणाम लगायतका विषयसम्बद्ध तथ्य प्रस्तुत गरिएका छन्।
पुस्तकमा २००७ सालदेखि २०४८ साल भदौसम्मको निजामती प्रशासनको इतिहास, २०४८ असोजदेखि २०५२ सालसम्मका निजामती प्रशासनम्बद्ध घटनाक्रम, नीतिगत संरचना र त्यसका प्रभावलाई विश्लेषण गरिएको छ।
पुस्तकमा पूर्व प्रशासक ढुंगेलले २०४९ साल कात्तिक २१ गते गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले एकैपटक ३६ सय कर्मचारीलाई बिदा गरेर कोतपर्व निम्त्याएको जिकिर गरेका छन्।
कार्यक्रमका वक्ताहरूले यत्तिको कोतपर्व जंगबहादुर राणाको वास्तविक कोतपर्वमा समेत नभएको टिप्पणी गरे। लेखक डा. ढुंगेलको पुस्तकमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यका पालामा लागु गरिएको निजामती सेवा नियमावलीको जगमै अहिलेसम्म कर्मचारीतन्त्र धानिएको उल्लेख गरेका छन्।
उक्त नियमावलीमा टेकेर कोइरालाका पालामा निम्त्याइएको कोतपर्वका कारण अहिलेको कर्मचारी प्रशासन बेथिति सुरु भएको तथ्य उजागर गरिएकोछ।
कार्यक्रममा ढुंगेलले पहिलेको कर्मचारी प्रशासन र अहिलेको कर्मचारी प्रशासनलाई तुलनासमेत गरेर साढे सात सय पृष्ठ लामो पुस्तक तयार गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि टोपबहादुर सिंह, विशेष अतिथि कृष्णप्रसाद भण्डारी, विशेष अतिथि गोरक्षबहादुर न्हुछेंप्रधान, डा. प्रचण्डप्रसाद प्रधान थिए।
यसैगरी पद्मामोहिनी माथेमा पूर्व कर्मचारी; अर्जुनमणि दीक्षित, पूर्व प्रशासक; गजेन्द्र बुढाथोकी, पत्रकार र डा. दिपेश घिमिरे, उपप्राध्यापकसहित चारजनाले पुस्तकको समीक्षा गरेका थिए। पुस्तकको सम्पादन पत्रकार ठमनाथ घिमिरेले गरेका हुन्। यस्तै कार्यक्रम राजेन्द्रराज तिमिल्सिनाले सञ्चालन गरेका थिए।
प्रकाशित: १८ श्रावण २०८२ ०९:११ आइतबार





