भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि स्थापित संस्था ‘कोसी साहित्य-कला प्रतिष्ठान नेपाल’ ले साहित्यिक जागरणको अभियान लिएर गाउँगाउँमा पुगिरहेको छ। लेखक तथा अनुसन्धाता केशु विरहीको अध्यक्षतामा स्थापित यस संस्थाले मोरङका हरेक पालिकामा पुगेर संस्थाको उद्देश्य तथा कार्यक्रमबारे जानकारी गराउनुका साथै उनीहरूबाट सुझाव सङ्कलन गर्ने कामसमेत गरिहेको छ।
मोरङका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा असार ३ गते मात्र गठन भएको यस संस्थाले विभिन्न पालिकामा पुगेर त्यस क्षेत्रका भाषा, कला, साहित्य, संस्कृति तथा समाजसेवाका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूसँगको भेटघाट तथा सुझाव सङ्कलनलाई तीव्रता दिएको छ।
यस क्रममा बेलबारी, रङ्गेली, लेटाङ, कानेपोखरी आदि पालिकामा पुगेर स्थानीय सरकारका प्रमुख, प्रतिनिधि तथा त्यस क्षेत्रमा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका पालिकाका व्यक्तिहरूसित भेटघाट तथा छलफल गरिसकेको छ भने छिट्टै मोरङका अन्य पालिकामा पनि पुगेर भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष केशु विरही बताए।
विरहीको अध्यक्षतामा गठित १३ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’, सहसचिवमा गीता कुलुङ राई र कोषाध्यक्षमा चिरञ्जीवी काफ्ले छन्।
त्यस्तै सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, लक्ष्मीप्रसाद फुयाल, मनोज कार्की, प्रकाशनारायण चौधरी, उमा बुढाथोकी छन्। साहित्यिक संस्थाहरू स्थापना हुने तर कोषका अभावमा गठन भएको केही वर्षमै बन्द हुने कुरा ख्याल गर्दै आफूहरूको ध्यान संस्थाको अक्षयकोष निर्माणमा रहेको र त्यसको सुनिश्चितता गराइरहेको नव गठित तदर्थ समितिका सचिव नवराज पोखरेल ‘नवशिला’ बताए।
धेरैजसो संस्थाको ध्येय भनेको अरूले देलान् र संस्था चलाउँला भन्ने नै देखिन्छ तर उनीहरू भने समय र विवेक मात्र नभएर आर्थिक लगानीसमेत आफैं गरेर संस्थाको आधार खडा गर्ने योजनामा छन्। अरूले देलान् भन्ने भन्दा पनि आफैंबाट सुरु गर्नुपर्छ भन्ने अभियानका साथ यस संस्थाको स्थापना गरिएको, संस्थापकमध्येबाटै विभिन्न विधाका पुरस्कारका लागि अक्षयकोषको स्थापना गर्न लागिएको अध्यक्ष केशु विरही बताए।
उनी भन्छन्, ‘धेरैजसो संस्था अरूकै भरमा स्थापना भएका देखिन्छन्। स्थानीय पालिका वा विभिन्न निकायले सहयोग गर्लान् र कार्यक्रम गरौँला भन्ने उनीहरूको ध्येय देखिन्छ तर हामी भने आफैंबाट लगानी गरेर यसको आर्थिक आधार तयार गर्ने क्रममा छौं। हामी सहयोग माग्दैनौं, हाम्रो काम हेरेर आफैँ दिउँदिउँ लाग्ने बनाउँछौं। सुरु आफैंबाट गर्नुपर्छ भन्ने अभियानमा पनि हो यो।’
धेरैले यस अभियानलाई सकारात्मक रूपमा लिएका छन्। सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष समेत डा. छवि वैरागी घिमिरेको यस संस्थालाई जनस्तरबाट सञ्चालित प्रज्ञाप्रतिष्ठानको अवधारणामा अघि बढाउनुपर्ने धारणा रहेको छ।
प्राडा भीम खतिवडा यस अभियानलाई आफूले नजिकबाट नियालिरहेको, साथीहरूको साहित्यप्रतिको सक्रियताले आफू निकै प्रभावित भएको बताउँछन्। यस अभियानमा सबैको साथ रहने विचार व्यक्त गर्दछन्।
प्रकाशित: १ भाद्र २०८२ १०:११ आइतबार





