२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

स्कटल्याण्डमा तीजको रौनक: दर्शक नचाउँदै कोमल वलीको उद्घोष- ‘म भावी सांसद’

<br>

स्कटल्याण्डस्थित नेपाली समुदायले हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजलाई एक विशेष कार्यक्रमका बीच भव्यतापूर्वक मनाएका छन्।

फाइभस्थित रोयल ब्रिटिश लेजेन्ट कम्युनिटी हलमा सोमबार आयोजित उक्त कार्यक्रममा चर्चित लोकगायिका तथा राजनीतिज्ञ कोमल वलीको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको थियो।

फाइभ नेपाली कम्युनिटी र युरोपियन नेपाली समाज स्कटल्याण्डको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सयौं नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले प्रवासमा नेपाली संस्कृति, परम्परा र सामुदायिक एकताको जीवन्त प्रदर्शन गरेको थियो।

कार्यक्रमको मुख्य आकर्षण बनेकी गायिका वलीले आफ्नो चर्चित गीत ‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ बाट सांगीतिक प्रस्तुति सुरु गरेकी थिइन्। त्यसलगत्तै उनले ‘पोइल जान पाम शिव,’  ‘आउ दिदि बहिनी,’ र ‘लास्टै चोटी हो’ जस्ता लोकप्रिय तीज गीतहरू प्रस्तुत गरेर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन्।

उनका गीतहरूमा प्रस्तुत महिला भावना, सामाजिक सन्देश र सांस्कृतिक संरक्षणको पक्षलाई सहभागीहरूले प्रशंसा गरेका थिए।

सांगीतिक प्रस्तुतिसँगै मन्तव्य दिने क्रममा पूर्व सांसदसमेत रहेकी वलीले आफू भविष्यमा पनि राष्ट्रिय राजनीतिमा सक्रिय रहने संकेत गरिन्।

उनले आफ्नो गीत-संगीतबाट आर्जित रकमको केही अंश दाङमा एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग गर्ने घोषणासमेत गरिन्। विगत दुई सातादेखि बेलायतका विभिन्न सहरमा प्रस्तुति दिइरहेकी वलीको स्कटल्याण्डको कार्यक्रमलाई सहभागीहरूले ‘स्मरणीय’ भनेर प्रतिक्रिया दिएका छन्।

फाइभ नेपाली कम्युनिटीका अध्यक्ष जेपी सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रमलाई गैरआवासीय नेपाली संघ यूकेका महासचिव दिवाकर पाण्डेले सञ्चालन गरेका थिए।

सो अवसरमा चर्चित कथावाचक कुबेर सुवेदीले तीज पर्वको धार्मिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पारेका थिए। कार्यक्रममा स्थानीय महिला कलाकारहरूको समूहले पनि तीजका गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरी वातावरणलाई थप मनोरञ्जनात्मक बनाएका थिए।

प्रकाशित: १० भाद्र २०८२ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App