महानवमीका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ।
यहाँ खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा छ। महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्त्वपूर्ण जात्राका रूपमा लिइन्छ।
महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुने हुँदा त्यस रूपमा महिषासुर ‘बध’ गर्ने प्रचलित धार्मिक लोकमान्यता अनुरूप यस दिन खःमेय्लाई बलिपूजा गरी जात्रा मनाउँदै आइएको संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताए।
नवदुर्गा द्योःछें (देवगृह)मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिउभरि सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरूप पूजाआजा गरी नवदुर्गा द्योः छेबाट बाहिर निकालर दौडाउने र ब्रम्हायणी पीठसम्म पुर्याइन्छ।
नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुईदुई चक्करसहित शरीरमा सात चक्र भएको, निक्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिँङ अगाडि फर्केको, शरीरमा कुनै घाउचोट नलागेको, १०० धार्नी तौल भएको मोटोघाटो राँगो चाहिने मान्यता छ।
खःमेय्को मासुका टुक्रा प्रसादका रूपमा घरलगी सुकुटी बनाउने र धुलो पारेर घ्युमा मुछी धुप बनाइन्छ। उक्त धूप लक्ष्मीपूजाको दिनमा बाल्ने चलन छ। त्यस दिन धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास छ।
प्रकाशित: १५ आश्विन २०८२ ११:२४ बुधबार





