कपन साहित्य समाजले १६० औं मोती जयन्तीको अवसर पारेर मासिक काव्य वाचन कार्यक्रम प्रारम्भ गरेको छ।
समाजका अध्यक्ष गणेशकुमार मिश्रको अध्यक्षता र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कपन साहित्य समाजले मासिक काव्य वाचन प्रारम्भ गरी प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गरिने कार्यक्रम अन्तर्गत पहिलो श्रृृङ्खलामा प्रा. जगत् प्रेक्षित, प्राडा हेमनाथ पौडेल, मित्रलाल पंङ्गेनी, रत्ननिधि रेग्मी ’शुक्राचार्य’, विकल त्यागी, भारद्वाज मित्र, प्राडा बद्रिविशाल पाखरेल, बिसु केसी, दुर्गा अधिकारी ’भमरकोटे’, महेश्वर खनाल, रामचन्द्र दाहाल, अनिता लामा, नेत्रबहादुर कुँवर, थरेन्द्र बराल, समृद्धि बास्ताेला, प्रह्लाद लामिछाने, रत्न उप्रेती, विनोद चालिसे, होमशंकर बास्तोला, हेमा अधिकारी, लक्ष्मण अधिकारी लगायत २७ कविले कविता वाचन गरेका थिए।
प्रमुख अथिति अधिकारीले भाषा साहित्यको उन्नयनमा नगरपालिका जहिले पनि सहयोगी रहने र नगरपालिकाभित्र साहित्यिक माहाैलकाे निर्माणमा पहल गरिरहेको बताए।
कपन साहित्य समाजका महासचिव लक्ष्मण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा समाजका सचिव त्रिलोचन आचार्यले उपस्थित कविहरूलाई स्वागत गरेका थिए।
कार्यक्रमको सभाध्यक्ष गणेशकुमार मिश्रले उपस्थित साहित्यकारहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कविता वाचन गरी कार्यक्रम समापन गरेका थिए।
कपन साहित्य समाजका सदस्य होमशंकर बास्तोलाले प्रत्येक महिनाको पहिलो शनिबार ‘काव्य वाचन’ कार्यक्रम सञ्चालन गरिने बताए।
प्रकाशित: १० भाद्र २०८२ १०:४६ मंगलबार





