ऋषभ शेट्टीको ‘कान्ताराः च्याप्टर १’ केवल एउटा पौराणिक कथा मात्र होइन। यो मानव, प्रकृति र विश्वासबिचको सन्तुलन खोज्ने गहिरो सिनेमाटिक ध्यान हो। फिल्मले भव्य दृश्य, पौराणिक प्रतीक र लोकसंस्कृतिका धुनहरूलाई समेटेर समानता, सहअस्तित्व र कपट विरुद्धको संघर्षको कथन प्रस्तुत गर्दछ। कान्तारा नामको जंगल यहाँ केवल ठाउँ होइन, अस्तित्वको मूल हो। जहाँ मानव र देवत्वको सीमा हराउँछ। यही जंगलमा जन्मिन्छ वीर बेरमे (ऋषभ शेट्टी)। जसको जीवन आफ्नो भूमि, समुदाय र आस्थाको रक्षा गर्न समर्पित हुन्छ। कदम्ब राज्यका शासकहरूले जंगलमा अधिकार जमाउने लोभ पाल्दा आदिवासीहरूको विश्वास र पहिचान संकटमा पर्छ। यहीँबाट सुरु हुन्छ सहअस्तित्व र स्वार्थबिचको द्वन्द्व, जहाँ बेरमे केवल योद्धा होइन, चेतनाको प्रतीक बन्छ।
फिल्मको कथा सतहमा युद्ध र प्रतिशोधको जस्तो देखिए पनि यसको भित्री तहमा धर्म र अधर्मबिचको सूक्ष्म रेखा प्रस्ट देखिन्छ। बेरमे र राजा कुलशेखर बिचको टकराब केवल दुई पात्रको द्वन्द्व होइन, दुई दर्शनको संघर्ष बनेको हो। बेरमे प्रकृतिलाई मातृत्वको रूपमा सम्मान गर्छ भने कुल शेखरले त्यसैलाई स्वार्थका लागि कब्जा गर्न खोज्छ। ऋषभ शेट्टीले यो द्वन्द्वलाई दैवी शक्तिहरू, लोक विश्वास र प्रतीकात्मक घटनाका माध्यमबाट दार्शनिक उचाइमा पु¥याएका छन्।
कनकवती (रुक्मिणी वसन्त)को पात्रले कथामा मनोवैज्ञानिक गहिराइ थप्छिन्। सुरुमा प्रेम र करुणाको प्रतीक देखिएकी उनी अन्त्यमा कपट र नियन्त्रणको मूर्तरूपमा परिणत हुन्छिन्। यसले दैवी शक्ति नियन्त्रणमा होइन, श्रद्धामा बस्छ भन्ने स्पष्ट सन्देश दिन्छ।
फिल्ममा भूत कोला परम्परा, दैव र गुलिगा जस्ता पात्रमार्फत आत्मा र माटोबिचको सम्बन्ध प्रस्ट्याइएको छ। यहाँका देवता आकाशीय नभई मानिसहरूको सामूहिक चेतनामा बस्छन्। जब असन्तुलन बढ्छ, तब तिनै देवता जाग्छन्। दृश्यात्मक रूपमा फिल्म चमत्कारिक छ। अरविन्द कश्यपको क्यामेराले जंगललाई सास फेर्ने जीवको रूपमा प्रस्तुत गरेको छ। हरियाली, आगो, पानी र धुवाँ जीवित पात्रझैँ देखिन्छन्। अजनीश लोकनाथको संगीतले युद्ध र अनुष्ठानका क्षणहरूलाई आध्यात्मिक उचाइमा पु¥याउँछ।
तर यस भव्य संसारबीच पनि केही असन्तुलन महसुस हुन्छ। प्रारम्भिक कथामा गति कमजोर छ। दृश्यात्मक आकर्षणले कहिलेकाहीँ कथा–आत्मालाई ओझेल पार्छ। ऋषभ शेट्टीको अभिनय प्रभावशाली भए पनि, फिल्म कहिलेकाहीँ नायक पूजामा ढल्किन्छ। जहाँ बेरमे देवत्वको प्रतिरूप बन्छ र मानवता पृष्ठभूमिमा हराउँछ। अन्ततः जब बेरमे इनारमा हाम फाल्छ। त्यसलाई केवल मृत्यु नभई आत्म–शुद्धीकरणको प्रतीकका रूपमा चित्रित गरिएको छ। यसले साँचो शक्ति स्वार्थमा होइन, त्यागमा निहित छ भन्ने दर्साउँछ। यही क्षण फिल्मको मुख्य सन्देश प्रकट हुन्छ– समानता र सहअस्तित्वको मूल्य कपट र लोभले तिर्नै पर्छ।
सन् २०२२ को कान्तारा अपेक्षाकृत सानो बजेटमा बनेको फिल्म थियो। जसले लोककथा, धार्मिक विश्वास र प्रकृति–मानव द्वन्द्वलाई माटोको गन्धसहित पर्दामा उतारेको थियो। तर यसको प्रभाव असाधारण रह्यो। भारत र अन्तर्राष्ट्रिय स्तरमा यो फिल्मले भारतीय रुपैयाँ तीन सय करोडभन्दा बढी कमाउन सफल भयो। यसको सफलताले ठुलो बजेट वा ठुला स्टार नभए पनि गहिरो कथा र सांस्कृतिक सत्यले दर्शकको मन जित्न सक्ने तथ्यको उदाहरण बन्यो। सिनेमा केवल मनोरञ्जन होइन, सांस्कृतिक आत्म पहिचानको पुनर्जागरण पनि हुन सक्छ। यही कारणले यसको प्रिक्वेल ‘कान्ताराः च्याप्टर १’ को घोषणा गर्दा दर्शकमा उत्साह फेरि जाग्यो।
च्याप्टर १ ले मूल फिल्मको जगलाई पौराणिक कालसम्म विस्तार गरेको छ। यो केवल धार्मिक कथा होइन, शक्ति, शासन, भूमि र विश्वासको जटिल सम्बन्धको प्रतिविम्ब हो। अन्त्यमा रहेको संवाद–‘तर त्यो इनार कहाँ गयो? त्यो त अर्को कथा हो’ ले प्रत्यक्ष रूपमा च्याप्टर २ को मार्ग खोलेको देखिन्छ। फिल्मको खुला अन्त्यले दर्शकमा च्याप्टर २ को लागि उत्सुकता जगाएको छ। ‘कान्ताराः च्याप्टर १’ को ओपनिङ प्रदर्शन र प्रतिक्रिया उत्कृष्ट रहेको छ।
मूल कान्तारा सानो गाउँ र स्थानीय संघर्षमा आधारित थियो। जहाँ पौराणिक र दैवी तत्त्व प्रसङ्गअनुसार देखा पर्थे। च्याप्टर १ ले त्यस संसारलाई राज्य, जंगल, दैवी शक्ति र राजनीतिक महत्त्वाकाङ्क्षासम्म पु¥याएको छ। मूलले मानव र प्रकृति बिचको संघर्षमा ध्यान केन्द्रित गरेको थियो भने प्रिक्वेलले दैवी शक्ति, कपट र पौराणिक शक्तिहरूको विस्तार गरेको छ। यसरी च्याप्टर १ सफलतापूर्वक मूलको उत्तराधिकारी बन्ने प्रयास हो।
नेपाली सिनेमा परिप्रेक्ष्यमा हेर्दा कान्तारा शृङ्खलाले हामीलाई धेरै सिकाउँछ। हाम्रो कथामा हिमाल, नदी, जंगल, देवता र समुदायका आस्थाहरू भरिपूर्ण छन्। तर ती प्रायः केवल दृश्य पृष्ठमा सीमित रहन्छन्। कान्ताराले लोक विश्वासलाई शक्ति बनाएर विश्वव्यापी प्रभाव देखायो। यसले निरन्तरता केवल पात्र र गाउँको होइन, त्यसमा निहित दर्शनको हुनुपर्छ भन्ने देखाउँछ। यदि कथा स्थानीय संस्कारसँग गहिरो रूपमा जोडिएको छ भने सानो बजेटमा पनि ठुलो प्रभाव पार्न सकिन्छ। लोकप्रियताको सट्टा विश्वास र आत्मीयताको व्यापार गर्न नेपाली फिल्महरूले पनि यही बाटो अपनाउनु पर्छ।
कान्तारा श्रृंखला केवल सिनेमा होइन, सांस्कृतिक आन्दोलन हो। यसमा दर्शकले आफ्नै पहिचान देख्छन्। सिनेमा एउटा दर्पण बनेर हाम्रो सहअस्तित्व, कपट र सत्यको अनुहार प्रस्तुत गर्छ। नेपाली सिनेमा अहिले त्यही मोडमा छ। जहाँ मनोरञ्जन र पहिचानबिचको दूरी घटाउन जरुरी छ। हाम्रो माटोमा देवता छन्, पहाड र खोलाहरू बोल्छन्, समाजका द्वन्द्व जीवित छन्। तर ती आवाज सुन्ने कला हराउँदै गएको छ। फिल्म बनाउने अर्थ केवल कथा भन्नु होइन, हराउँदै गएको विश्वास र सन्तुलनलाई पुनर्जीवित गर्नु सिनेकर्मीका लागि कान्ताराले दिएको सन्देश हो।
यदि नेपाली सिनेमा यसबाट केही सिक्न चाहन्छ भने त्यो हो– पहिचानमा गर्व गर, स्थानीयतालाई लुकाउने होइन, त्यसैलाई ब्रान्ड बनाऊ। तब मात्र हाम्रो सिनेमा पनि कान्ताराजस्तै, सिमाना नाघेर विश्वसामु हाम्रो कथा प्रस्तुत गर्न सक्षम हुनेछ।
प्रकाशित: २१ आश्विन २०८२ १७:३९ मंगलबार





