मिर्चैया बजारबाट करिब सात किलोमिटर उत्तर चुरे फेदमा अवस्थित छ कमलदह। पर्यापर्यटनको आकर्षक केन्द्रका रूपमा मिर्चैया नगरपालिका–९ को कमलदहले २०७५ सालपछि काँचुली फेर्यो। राष्ट्रपति तराई–मधेस चुरे विकास समितिले नेपाली सेनामार्फत दहलाई पर्यटकीय स्थलको स्वरूपमा ढाल्न संरक्षण, प्रवर्धन र आधुनिकीकरण गरेपछि कमलदह आकर्षक पर्यटकीय गन्तव्य बन्यो।
उत्तरमा चुरे पहाडको काखमा अवस्थित कमलदहबाट हिमालसमेत अवलोकन गर्न पाइने गरी सेनाले भ्यु–टावर निर्माण गर्यो। पर्यापर्यटनका हिसाबले विकास भएको कमलदह झन्डै तीस बिघा क्षेत्रफलमा फैलिएको छ।
कमलदहमा फुल्ने कमलका कारण यो दह थप चर्चित छ। जेठको पहिलो सातादेखि कमलको बोट पलाउन सुरु गर्छ। साउन महिनाभरि ताल छेउछाउको भाग हरित बन्छ। त्यसपछि कमल फुल्न सुरु गर्छ। फूलसँगै हरियाली भने कात्तिकसम्मै रहन्छ। यो बेला ताल घुम्न लायक हुन्छ।
कमलदहको पानी सफा र निलो छ। कतै मुुहान पनि नदेखिने तर पानी सुुकेर पनि नघट्ने कमलदहको अनौठो विशेषता हो। सधैं कञ्चन पानीको छाल अनि गृष्ममा फुल्ने कमलको मनमोहक आकर्षणले पर्यटकको मन लोभ्याउँछ। स्विमिङ गर्न र नाउ (रबरको डुङ्गा) विहार गर्न सकिने कमलदह निकै आकर्षक छ।
नेपाली सेनाले २०७५ जेठ ३१ गतेदेखि कमल दलको जीर्णोद्धार, उकास, आधुनिकीकरण, दह सरसफाइ र संरक्षणका लागि काम थालेका थिए। नेपाली सेनाले यो दहलाई पर्यटकीय स्थलको स्वरूप दिएर काम सम्पन्न गरिसकेर मनमोहक बनायो। नष्ट प्रायः भइसकेको कमल फूललाई संरक्षण गरी दहभरि फैलाउने, दहको चारैतिर आकर्षक बाटो निर्माण गर्ने, दहभित्रका जलमारा (बेकार झाडी) हटाउने काम गरेर दहलाई आकर्षक बनायो। कमलदहमा रौनक फर्काउने काममा नेपाली सेनालाई स्थानीय तहले समेत त्यो बेला सहयोग गर्यो।
नेपाली सेनाले यो दहको मौलिकता जोगाउँदै आकर्षक पर्यटकीय केन्द्रको स्वरूप दिएको स्थानीय पत्रकार मुकेश यादव बताउँछन्। अहिले संरक्षणको अभावमा यहाँ मानिसहरू फोहोर गरिदिने क्रम चलेको छ। यसको सौन्दर्यलाई कायम राखिराख्न स्थानीय सरकारले गम्भीर पहलकदमी लिनुपर्ने उनको भनाइ छ।
सेनाले निर्माण सकेसँगै यो दहले आन्तरिक र बाह्य पर्यटकका लागि लोभलाग्दो पर्यटकीय स्थलको स्वरूप पाएको उनले बताए। राजमार्गको मिर्चैया खण्डबाट कमलदहसम्म करिब ३१ फिटको फराकिलो सडक निर्माण भएको छ। जसका कारण पर्यटकलाई कमलदलसम्म पुग्न सहज भएको छ।
राष्ट्रपति चुरे तराई–मधेस विकास समितिको तीन करोड ३५ लाख रुपैयाँ नेपाली सेनामाफर्त कमलदहलाई आकर्षक पर्यटकीय स्थल निर्माणमा खर्च गरिएको छ। यहाँ पर्यटकका लागि इन्जिन बोट राखिने त्यो बेलाको योजना भने अझै पूरा हुन सकेको छैन। चारैतिर डिलमा सेड, चौतारा, खानेपानीको व्यवस्थापन अधुरो छ। दहमा पानी बढी हुँदा पानी निकासका लागि चेक ड्याम निर्माण गरिएको छ। भत्केका डिललाई मर्मत सम्भार गरी व्यवस्थित बनाइएको छ।
कमलको महत्त्व
कमलदहमा रहेको पानीमुनिको कमल यसको मुख्य आकर्षण मानिन्छ। यसको खानी नै यो दहमा छ। कमललाई निकाल्ने उपयुक्त समय चैत पहिलो सातादेखि वैशाख अन्तिम सातासम्म मानिन्छ। पानीमुनि रहेको कमल निकाल्नुपूर्व पौडिएर तालभित्र पसेपछि डुबेर खुट्टाले छामेर कमल पानीभित्र छ भन्ने पक्का गरिन्छ। कमल भएको पक्का भएपछि पानीबाहिर आएर लामो सास फेरिसकेपछि फेरि पानीभित्र डुबेर कमल निकालिन्छ। यसरी निकालेको कमललाई तालमाथि नै छोड्दै तीनचार पटक यो क्रिया दोहोर्याइन्छ।
यसपछि कमललाई पौडिँदै गएर पानीबाहिरै ल्याइन्छ। कमल काँचै पनि खान सकिन्छ। यसलाई अचारका रूपमा पनि प्रयोग गरिन्छ। कमलको फूलदेखि जरासम्म सबै मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण औषधीका रूपमा प्रयोग गरिने यस दहका संरक्षकमध्येका एक राजदेव राउत दासले बताए। कमलको फूलबाट बनेको बिउलाई (दाना) पिसेर पानीमा घोली नियमित सेवन गरेमा जन्डिस रोग निको हुने उनको अनुभूति छ।
गुमनाम कमलदह
शताब्दीयौं पुरानो इतिहास बोके पनि प्रचारप्रसार र संरक्षणको अभावमा पर्यापर्यटनको आधार कमलदह गुमनाम छ। मधेस प्रदेशमा पर्यापर्यटनको बलियो सम्भावना बोकेको कमलदहको संरक्षणमा सरकारी बेवास्ताले यसको अस्तित्व संकटमा परेको हो। दहमा उम्रने झ्याउ झारले तालको सुन्दरतालाई बिगारेको थियो। २०५४ सालदेखि त यो दहको अस्तित्व झनै संकटमा पर्यो। तत्कालीन स्थानीय निकायले दह ठेक्का लगाउन थालेपछि यसको अस्तित्वको संकट सुरु भएको हो।
ठेक्केदारले माछापालन गरेर दहको पानी दूषित पार्ने गरी मलखाद हाल्न थालेपछि दह फोहोर हुन थाल्यो। ठेकेदारले कमलदहको आकर्षण कमलको फूल नष्ट गर्ने, रुखबिरुवा मास्ने काम सुरु गर्यो। जसका कारण दहको अस्तित्व खतरामा परेको थियो। यो क्रम २०७४ साल कात्तिकसम्म चल्यो।
यसरी सुरु भयो संरक्षण
स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधि आएपछि कमलदह संरक्षणतिर कार्य अघि बढ्यो। यो दह मास्ने माफियाहरूलाई छेउ लगाएर जोगाउने काम आफू निर्वाचित भएर आएपछि सुरुवात गरेको तत्कालीन वडाध्यक्ष मोहन पोखरेलले बताए।
राष्ट्रपति चुरे तराई मधेस विकास समितिमा पहल गरेर कमलदह पर्यटकीय स्थलको कार्यक्रम ल्याएको पोखरेलले बताए। कमलदह यस क्षेत्रको मात्र नभएर यो प्रदेशकै लागि बलियो आम्दानीको स्रोतको रूपमा गौरव गर्न सकिने पर्यटकीय स्थल भएको उनले बताए।
प्रकाशित: १४ भाद्र २०८२ ११:१० शनिबार





