भारतीय पौराणिक कथामा आधारित फिल्म ‘रामायण : राइज अफ अ लेजेन्ड’ को रावण र जटायुबिचको युद्ध दृश्य अहिले दर्शकमाझ चर्चाको विषय बनेको छ। भव्य दृश्य संयोजन, उच्चस्तरको दृश्य प्रभाव (भीएफएक्स) र सशक्त एक्सनका कारण प्रशंसा पाइरहेको उक्त दृश्य तयार गर्न निर्देशक नितेश तिवारीको टोलीलाई साढे ६ वर्ष लागेको खुलासा भएको छ।
फिल्ममा जटायुको पात्रलाई आवाज दिएका वरिष्ठ अभिनेता अनुपम खेरले पनि उक्त दृश्यको डबिङ गर्नुअघि आफू भावुक भएको अनुभव सुनाएका छन्। जटायुले सीतालाई रावणको कब्जाबाट मुक्त गराउन गरेको संघर्ष र अन्तिमसम्म हार नमान्ने साहसलाई फिल्ममा प्रभावशाली ढङ्गले प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालमा समेत यही दृश्यका क्लिप र प्रतिक्रियाले चर्चा पाइरहेका छन्।
७१ वर्षीय अनुपम खेरले हालै ‘द हलिउड रिपोर्टर’सँगको कुराकानीमा जटायुको पात्रका लागि आवाज दिन आफूलाई गरिएको प्रस्तावदेखि भावनात्मक दृश्यको डबिङ गर्दाको अनुभवसम्म सुनाएका छन्।
उनका अनुसार गत वर्ष अप्रिल वा मे महिनातिर निर्माता नमित मल्होत्राले उनलाई जटायुको पात्रका लागि आवाज दिन प्रस्ताव गरेका थिए। त्यसबेला जटायुको आवाज अमिताभ बच्चनले दिने चर्चा पनि चलेको थियो।
‘मैले रामायण पढेको थिएँ। बाल्यकालमा विभिन्न नाटकमा यसका पात्रको भूमिकासमेत निर्वाह गरेको थिएँ। त्यसैले उनीहरूले के बनाएका रहेछन् भनेर हेर्न गएँ। मलाई फिल्मको नौ मिनेट लामो दृश्य देखाइयो। त्यो हेरेपछि म निकै प्रभावित भएँ,’ उनले भनेका छन्।
अनुपमका अनुसार उक्त दृश्य हेरेकै दिन डबिङ गर्ने योजना थियो। तर रावण र जटायुबिचको युद्ध दृश्य हेरेपछि उनी तत्कालै आवाज दिन तयार भएनन्।
‘मैले त्यही दिन डबिङ गर्ने योजना बनाएको थिएँ। तर जब उनीहरूले रावण र जटायुबिचको युद्ध दृश्य देखाए, म निकै भावुक भएँ। मैले “म यसका लागि तयार छैन” भनेँ। त्यसपछि म भोलिपल्ट फर्किएँ,’ उनले आफ्नो अनुभव सुनाएका छन्।
सामान्य फिल्ममा कुनै दृश्यको डबिङ गर्न आफूलाई प्रायः २० मिनेटभन्दा बढी समय नलाग्ने भए पनि जटायुको पात्रका लागि भने विशेष तयारी गर्नुपरेको अनुपमले बताएका छन्। जटायुका १० देखि १२ वटा मात्र संवाद भए पनि तिनमा समेटिएको भावना र पात्रको मनोविज्ञान बुझ्न उनले पर्याप्त समय दिएका थिए।
विशेषगरी जटायु र भगवान् रामबिचको अन्तिम भावनात्मक दृश्यका लागि पात्रको मनोभाव आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ छ।
एउटै युद्ध दृश्यका लागि हजारौँको मेहनत
निर्देशक नितेश तिवारीले हालै दिएको एक अन्तर्वार्तामा रावण र जटायुबिचको युद्ध दृश्यलाई प्रारम्भिक अवधारणादेखि अन्तिम स्वरूप दिनसम्म साढे ६ वर्ष लागेको बताएका छन्। उनका अनुसार उक्त दृश्य निर्माणमा हजारौँ कलाकार तथा प्राविधिकले काम गरेका थिए।
युद्ध दृश्यको निर्माणमा रावणको पुष्पक विमानको डिजाइन सबैभन्दा चुनौतीपूर्ण पक्ष बनेको थियो। विमानको अन्तिम स्वरूप तय गर्न मात्रै टोलीले झन्डै दुई वर्ष खर्चिएको थियो। यस अवधिमा ४० देखि ५० वटा डिजाइन तयार पारेर अध्ययन तथा परीक्षण गरिएको निर्देशक तिवारीले बताएका छन्।
सुरुमा तयार गरिएको पुष्पक विमानको डिजाइनलाई आधार मानेर युद्ध दृश्यको कोरियोग्राफी गरिएको थियो। तर पछि विमानको डिजाइन नै परिवर्तन भएपछि युद्ध दृश्यका विभिन्न भाग पुनः तयार गर्नुपरेको थियो। अन्तिम डिजाइन प्रारम्भिक अवधारणाभन्दा निकै फरक भएकाले दृश्यलाई पटक–पटक परिमार्जन गर्नुपरेको तिवारीको भनाइ छ।
विमान उड्न सक्ने देखिनु मात्र पर्याप्त नहुने भन्दै त्यसको संरचना र उडानमा वैज्ञानिक आधारसमेत झल्किनुपर्ने सोचका साथ निर्माण टोलीले काम गरेको उनले बताएका छन्।
दुई भागमा रामायण
नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण : राइज अफ अ लेजेन्ड’ नमित मल्होत्राले निर्माण गरेका हुन्। दुई भागमा निर्माण गरिएको फिल्मको पहिलो भाग नोभेम्बर ६ देखि विश्वभरका सिनेमाघरमा प्रदर्शन भइरहेको छ।
फिल्ममा रणवीर कपुरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्। त्यस्तै सन्नी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा छन्। अनुपम खेरले जटायुको पात्रलाई आवाज दिएका छन्।
भारतीय पौराणिक कथालाई अन्तर्राष्ट्रियस्तरको दृश्य प्रविधि र भव्य प्रस्तुतिमार्फत पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको फिल्मको दोस्रो भाग पनि निर्माण योजनामा छ।
प्रकाशित: २७ कार्तिक २०८३ १७:५३ शुक्रबार





