१ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

अचम्म लाग्छ सम्झिँदा सुहागरातका कुरा!

मुक्तक

१) मुक्तक

कुतर्क चल्छ दिनदिनै लिएर भातका कुरा

न गर्न सक्दछौँ कुनै खुलेर आँतका कुरा

मिलेर बस्न दम्पती सकिन्न खै कुनै दिन

अचम्म लाग्छ सम्झिँदा सुहागरातका कुरा।

२) मुक्तक

नेपालीले गफकै भरमा माम खाइएको छ

मामको जोहो गर्न सबलाई दाम चाहिएको छ

विदेशीलाई टाइम छैन नेपालीलाई कामै छैन।

अब सारा हामीलाई काम चाहिएको छ।

३) मुक्तक

जग्गाजमिन मलिला छन् गर्व लाग्छ हामीलाई

बालीनाली फलिला छन् हर्ष लाग्छ हामीलाई

पुराना दल वृद्ध नेता भन्दै दिक्क निराश थियौं

सांसद मन्त्री कलिला छन् गर्व लाग्छ हामीलाई।

४) मुक्तक

माटे घरलाई के रङरोगन लिउन भए पुग्यो

बाँच्नलाई केको मन्त्री पिउन भए पुग्यो

उच्चाकाङ्क्षा छैनन् केही सरल जीवन बाँच्दा

बिहानसाँझ खालि भात र तिहुन भए पुग्यो।

५) मुक्तक

कानुन राम्रो बुझ्नैपर्छ राज्यको नुन खाएपछि

कर्तव्यलाई पुज्नुपर्छ जिम्मेवारी पाएपछि

बर्दी कुर्सी वेतन मात्रै जागिरदारको सार हैन

वैरीसित जुझ्नुपर्छ सीमा मिच्दै आएपछि।

प्रकाशित: २८ चैत्र २०८२ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App