दोस्रो हप्तामा प्रवेश गरेको ‘रमिताको पिरती’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकले सिनेमाको कथावाचन र कलाकारको कामको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।
‘जेरी’ यता अभिनयका लागि प्रशंसाका शब्द सुन्न नपाएकी आना शर्माका लागि ‘रमिताको पिरती’ ले सञ्जिवनी बुटीको काम गरेको छ। दर्शकको उनको अभिनय देखेर हुरुक्क छन् भने सिनेमाको समग्र सन्देशले पनि आफूहरूलाई भित्रैदेखि छोएको उनीहरूको प्रतिक्रिया छ।
सिनेमाले बिखन्डित परिवारमा हुर्किएकी रमिता नामक युवतीको प्रेम र धोकाको यात्रा प्रस्तुत गरेको छ तर आना शर्माले निर्वाह गरेको यो सिनेमाले जेन्जी पुस्ताको भावना दुरुस्त उतारेको युवा दर्शकको प्रतिक्रिया छ। लेखक तथा निर्देशक सुदीप्ताका अनुसार हल भिजिटमा जजसले उनलाई प्रतिक्रिया दिएका छन्, सबैले आफ्नै कथा हेरिरहेको प्रतिक्रिया दिएको सुनेकी छन्।
‘खासगरी जेन्जी उमेरका युवतीले रमिताको पिरतीमा आफ्नै कथा पाएको पाएको बताउनुहुन्छ। यो मेरा लागि खुसीको कुरा हो तर सिनेमाको मुख्य सन्देश भनेको हाम्रो समस्या हेर्ने दृष्टिकोण हो। कतै समस्या हामी आफैँमा त छैन भनेर सिनेमाले जसरी सिनेमा भित्रको चरित्रलाई प्रश्न गर्न प्रेरित गरेको छ, यो प्रश्न दर्शकमा पनि प्रवाह भएको छ। यसले मलाई अतिरिक्त खुसी दिएको छ,’सुदीप्ताको भनाइ छ।
यो सिनेमामा आनाको अभिनयले पनि धेरैको मन जितेको छ। यसरी आनाको अभिनयको प्रशंसा गर्नेमा अभिनेता भुवन केसी पनि छन्।
उनले ‘रमिताको पिरती’ हेरेपछि जेरी जोडी अनमोल केसी र आना शर्मालाई लिएर सिनेमा बनाउने रहर लागेको प्रतिक्रिया दिएका छन्। उनले मिडियासामु प्रतिक्रिया दिँदै सिनेमा उच्च कोटिको बनेको र त्यसमा आनाको अभिनय अझै उत्कृष्ट रहेको बताएका थिए। अभिनेत्रीहरू ऋचा शर्मा र बेनिशा हमालले पनि सिनेमा र आनाको अभिनयको खुलेर तारिफ गरेका थिए।
यसको असर सिनेमा घरमा पनि देखिन थालेको वितरक करण श्रेष्ठ बताउँछन्। उनले दर्शकको चासोसँगै सिनेमा घरले ‘रमिताको पिरती’ को सो थप्न थालेको जानकारी गराए। करणका अनुसार लबिम मल, रञ्जना, वन सिनेमा, सिटी स्क्वायर आदि हलले सो थपेका छन् भने कीर्तिपुर, बिग मुभिज, शुभकामना बनेपा आदि हलले हटाएको सो फिर्ता ल्याएका छन्। यसले आगामी हप्ता सिनेमाले थप गति समात्ने अपेक्षा बढेको करण बताउँछन्।
प्रकाशित: ७ फाल्गुन २०८२ ०६:४९ बिहीबार


-600x400.jpg)


