विश्वचर्चित स्पेनिस सिरिज ‘मनी हाइस्ट’ को युनिभर्स अझै विस्तार हुने भएको छ।
स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले ‘बर्लिन’ को दोस्रो सिजनपछि पनि यसको नयाँ अध्याय आउने औपचारिक पुष्टि गर्दै छैटौँ सिजन वा ‘द प्रोफेसर’ को पुनरागमनको सङ्केत दिएको छ।
आगामी यात्राबारे प्रस्ट हुनुअघि नेटफ्लिक्सले ‘बर्लिन सिजन २’ को प्रदर्शन मिति तय गरेको छ। ‘बर्लिन एन्ड द लेडी विथ एन अर्माइन’ नाम दिइएको यस स्पिन-अफको दोस्रो सिजन सन् २०२६ मे १५ तारिखमा विश्वव्यापी रूपमा रिलिज हुनेछ।
मुख्य अभिनेता पेड्रो अलोन्सो (बर्लिन) सँगै केइला र डेमियनले यस सिजनमा ड्युक अफ मालागालाई लक्षित गरी नयाँ डकैती गर्नेछन्।
नेटफ्लिक्सले स्पेनको सेभिलस्थित ग्वाडाल्किभिर नदीमा एक भव्य प्रवर्द्धनात्मक कार्यक्रममार्फत यो नयाँ घोषणा गरेको हो। हजारौँ प्रशंसकको उपस्थितिमा रातो जम्पसूट र ‘डाली’ मास्क लगाएका कलाकारहरू डुङ्गामा सवार हुँदा प्रसिद्ध गीत ‘बेला चाओ’ गुञ्जाएर मूल सिरिजको झल्को दिइएको थियो।
यसै अवसरमा सार्वजनिक गरिएको नयाँ टिजरमा ‘क्रान्ति कहिल्यै समाप्त हुँदैन’ भन्ने सन्देश राखिएको छ। रोयल मिन्ट र बैंक अफ स्पेनको डकैतीका दृश्यहरू समेटिएको भिडियोको अन्त्यमा जमिनमुनि गाडिएको सुनको इँटा निकालिएको दृश्य छ।
सुनको इँटाको दृश्यसँगै प्रशंसकहरूमाझ ‘मनी हाइस्ट सिजन ६’ आउने र अल्भारो मोर्टेले निर्वाह गरेको ‘द प्रोफेसर’ पात्र फर्किने अड्कलबाजी सुरु भएको छ।
सन् २०२१ मा मूल सिरिज सकिएको करिब पाँच वर्षपछि नेटफ्लिक्सले यो सङ्केत दिए पनि ‘द प्रोफेसर’ को उपस्थितिबारे भने आधिकारिक पुष्टि गरिसकेको छैन।
नेटफ्लिक्सले यो फ्रेन्चाइजलाई निरन्तरता दिनुको मुख्य कारण यसको विश्वव्यापी व्यावसायिक सफलता हो। ‘एलेक्स पिना’ द्वारा सिर्जित यस सिरिजले सन् २०२३ देखि २०२५ को बीचमा मात्रै करिब १.३ अर्ब घण्टाको भ्युअरसिप रेकर्ड बनाएको छ।
अङ्ग्रेजी बाहेकका सिरिजहरूमध्ये सर्वाधिक हेरिने सूचीमा ‘मनी हाइस्ट’ का तीनवटा सिजन अझै कायमै छन्। यसको स्पिन-अफ ‘बर्लिन’ को पहिलो सिजन प्रदर्शनको पहिलो हप्तामै ९१ देशको शीर्ष १० भित्र पर्नुका साथै लगातार सात हप्ता ग्लोबल चार्टमा रहेको थियो।
प्रकाशित: २८ वैशाख २०८३ १९:१८ सोमबार



-600x400.jpg)

