तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।
दमौली–भोर्लेटार भित्री सडक खण्डमा कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ६४६५ नम्बरको बस अनियन्त्रित भई पुलमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
मंगलबार दिउँसो ३:१५ बजे भएको उक्त दुर्घटनामा बसका चालक सिटमै च्यापिएका थिए। दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिकसहित १७ जनाको प्रहरी टोली घटनास्थल खटिएर उद्धार कार्य गरेको थियो।
दुर्घटनामा घाइते भएका अन्य ९ जना यात्रुलाई पनि तत्कालै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाका समयमा बसमा करिब २५ जना यात्रु सवार रहेको बुझिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ५ श्रावण २०८३ १६:४४ मंगलबार

