‘ओ हरिधने, खाएपछि तिर्नु पर्दैन?’ मुखिया काइला बाले धोद्रे स्वरमा हरिधनलाई हप्काए।
‘कति पटक तिर्ने हजुर? बाउको पालादेखि नै तिरेको तिर्यै छौं त। अब धम्क्याउनु पर्दैन, काइला बा।’ हरिधनले निर्भयतापूर्वक जवाफ फर्कायो।
हरिधनको जवाफले काइला बाको मन अमिलियो। उनी व्याजको स्याज जोडेर रकम लिने व्यक्ति हुन्। उनमा सामन्त्याइँ प्रवृत्ति जीवितै छ। मुखियाको धङधङ्ले छोडेकै छैन।
हरिधन भुइँमान्छे हो। श्रम नगरी जीविकोपार्जन हुँदैन। ऊ राजनीति जान्दैन तर ऊमाथि राजनीति गरिन्छ। लालपुर्जा दिने बहानामा उसको मत मागिन्छ र उसको मतको दुरुपयोग गरिन्छ।
वीसौं वसन्त बितिसक्यो। हरिधनले लालपुर्जा प्राप्त गर्न सकेन। आश्वासनका वर्ष भैरहे। मन्त्री र प्रधानमन्त्री फेरिए। शासन व्यवस्था फेरियो तर हरिधनको अवस्था फेरिएन। गरिबी, अशिक्षा र बेरोजगारीले थिचिरह्यो।
हरिधनको सुकुम्बासीबस्ती यो पटक मत बहिष्कार गर्ने निर्णयमा पुगेको छ। मत हाल्नै परे लिखित प्रतिबद्धता खोज्नेभएको छ। बेइमानहरूले वीसौं वर्ष बेइमान गरिसके। अब पनि बेइमानहरूको चक्रव्यूहमा फस्ने र?
हरिधन र मुखिया काइला बा बिचको अन्तर्संघर्ष हाम्रो समाजको वर्गीय चित्रणको जिउँदो नमुना हो।
प्रकाशित: ७ फाल्गुन २०८२ १०:२९ बिहीबार





