'चोटपटक रोकथाम तथा नियन्त्रण' नामक पुस्तक अहिले सार्वजनिक हुने प्रक्रियामा छ। डा. पुष्पराज पन्त, डा. भगवती सेढाइ र बिमल सिंह बिष्टद्वारा लिखित पुस्तकले विशेष गरी नेपालको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ। पुस्तकको विशिष्टता भनेको चोटपटकहरूलाई अनिवार्य वा आकस्मिक घटनाका रूपमा मात्र नभई नियन्त्रण गर्न सकिने परिणामका रूपमा प्रस्तुत गर्नु हो।
यसमा चोटपटकलाई केवल ‘दुर्घटना’ वा ‘भाग्यको खेल’ भन्ने गलत धारणालाई चुनौती दिइएको छ। पुस्तकले चोटपटकलाई सामाजिक, आर्थिक र वातावरणीय सन्दर्भमा राख्दै विस्तृत रूपमा छलफल गरेको लेखकहरूको भनाइ छ।
पुस्तकको सबैभन्दा प्रष्ट विशेषता भनेको यसको सपष्टता र तथ्यमा आधारित विश्लेषण हो। जटिल विषयलाई पनि छोटकरीमा प्रमाणका आधारमा प्रस्तुत गरिएको छ। चोटपटकलाई जानबुझी, अजानबुझी र सडक यातायातसम्बन्धी श्रेणीमा वर्गीकरण गरिएको छ। यसमा डढेलो, डुबेर मृत्यु, विष सेवन, लडाइ चोट तथा व्यावसायिक चोट जस्ता विषयहरूलाई विस्तृत ढंगले समेटिएको छ।
यो पुस्तकले सामान्यतया चोटपटकलाई सडक दुर्घटनासँग मात्र जोड्ने परम्परागत सोचलाई तोडेर यसको व्यापक स्वास्थ्य प्रभावलाई उजागर गरेको छ।
विशेष रूपमा मन छुने कुरा भनेको तथ्य र व्यवहारिक मार्गदर्शनको संयोजन हो। पुस्तकले प्राथमिक उपचार र आपतकालीन प्रतिक्रियालाई जोड दिएको छ, जसले सिद्धान्त र अभ्यासबीचको खाडल पुरा गरेको छ। साथै, असुरक्षित संरचना, असुरक्षित काम, गरिबी, असुरक्षित स्वास्थ्य सेवा, कमजोर नियमन जस्ता संरचनागत समस्याहरूलाई समेत समेटेर चोटपटक किन अझै पनि सार्वजनिक स्वास्थ्यको ‘भुलिएको चुनौती’ हो भन्ने प्रष्ट पारेको छ।
यद्यपि, पुस्तकमा नीति निर्माण र दीर्घकालीन रणनीतिक योजनाका लागि स्पष्ट रोडम्यापको कमी देखिन्छ। समुदाय, प्रदेश, वा राष्ट्रिय स्तरमा कसरी कार्यान्वयन गर्ने भन्ने विशिष्ट चरणहरू प्रदान गरिएको भए, यो कृति नीति निर्माता र कार्यकर्ताहरूका लागि अझ उपयोगी बन्न सक्थ्यो।
तर पनि पुस्तकले चोटपटकको गम्भीरतालाई उजागर गर्ने, रोकथामका उपायहरूको ज्ञान दिने र विद्यार्थी, अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी, निर्णयकर्ता र समुदायका अगुवाहरू सबैलाई मार्गदर्शन गर्ने आफ्नो मुख्य उद्देश्य पूरा गरेको छ।
यस पुस्तक शैक्षिक र बौद्धिक दुवै हिसाबले मूल्यवान् कृति हो। यसले सार्वजनिक स्वास्थ्यको ‘भुलिएको आपतकालीन समस्या’लाई उजागर गरेको छ र जनतालाई सचेत, तयार र सहकार्य गर्न प्रेरित गरेको छ। नेपाल मात्र नभई अन्य देशहरूमा पनि यो पुस्तक आगामी अनुसन्धान, प्रवर्द्धन र रणनीतिक योजनाका लागि आधारशिला बन्ने लेखको विश्वास छ।
पुस्तक पढेपछि प्रकृतिले पुस्तकको समीक्षा गरेकी हुन् । उनी युथ फर रोड सेफ्टी इन नेपालकी युथ एम्बास्डरहुन् ।
प्रकाशित: १७ भाद्र २०८२ १३:३२ मंगलबार





