शिखा बुक्सले डा. मुरारी अधिकारीको ‘सत्य गीता’ बजारमा ल्याएकाे छ।
गीतामोक्ष साधना ग्रन्थ हो। यो साधना ग्रन्थले कसरी मानिसको मनमा जन्मजन्मान्तरदेखि संग्रह भएका त्रिगूणी संस्कारहरू र म भाव रूप मूल अज्ञान नष्ट गरेर समानान्तर रूपमा मनको समत्वको विस्तार गर्दै परमात्मासँग योग वा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने साधना विद्या वा विधि प्रदान गरेको छ।
भगवान् श्री कृष्णद्धारा वाचन गरिएको यो परम मोक्ष ग्रन्थले परमात्मा यो सृष्टिमा जसले मलाई भज्दछ, म पनि उसलाई त्यसरी नै भज्दछु (४।११) भन्ने कारण-कार्य-कारण नियम र अन्य शाश्वत नियमहरूको रूपमा क्रियाशील रहेको घोषणा गर्दै इन्द्रिय विषयका मिलनका क्षणमा मनमा उत्पन्न भएका रागपूर्ण वा सुखद् र द्धेषपूर्ण वा दुखद् अनुभूतिहरूलाई भोग गर्दा परमात्माका शाश्वत नियमहरूले मानिसको मनमा बन्धन (त्रिगणी संस्कारहरू र म भाव रूप मूल अज्ञान) र यिनै अनुभूतिहरूलाई भोग नगरी समदुखसुखम् स्थितिमा रहँदा मनमा समत्व वा मोक्षको उत्पत्ति, विस्तार आदि गर्ने सत्यको व्याख्या गरेको छ। गीता प्रदत्त मोक्ष प्राप्तिका तिन प्रमुख साधनाहरू, सन्यासयोग (२।३८) , कर्मयोग (२।४८), भक्तियोग (८।७, ९।२७) को मूल साधना विधि पनि समदुखसुखम् नै रहेको छ।
डा. अधिकारीको झण्डै अठार वर्षको अध्ययन, साधना, साधना अनुभूति आदिबाट जन्मिएको यो पुस्तक झण्डै ५२०० वर्षको लामो समयपछि गीताको सत्य व्याख्या वा सत्य साधना व्याख्या पनि रहेको छ। सूक्ष्मतामा यो पुस्तकको स्व-अध्ययन गरी पाठक यो सत्यसँग परिचित हुन सक्ने छन्।
यस पुस्तक को मूल्य १३७५। रहेको छ। यसअघि धर्मचक्र प्रवर्तन सुत्त, महासतिपठ्ठान सुत्त, विवेक चुडामणि, विपश्यना साधना जस्ता कृति प्रकाशित छन्।
प्रकाशित: १० मंसिर २०८२ १२:५४ बुधबार





