१) मुक्तक
अन्धधुन्ध गोली चलाउ दोषी अर्कै देखाऊ
मूर्ति महल तोड ढलाउ दोषी अर्कै देखाऊ
गल्ती गरी माफी माग्ने तिम्रो इज्जत होइन
राज्यमा नै आगो जलाउ दोषी अर्कै देखाऊ
२) मुक्तक
हलो जोत्ने म छँदै छु कुनाकानी खन प्रिय
मैले होस्टे भन्नासाथै तिमी हैंसे भन प्रिय
चखेवाको जोडी जस्तै जीवन ज्यून मन छ भने
चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय।
३) मुक्तक
बाघ सिंह एक्लै मार्छन् चुनाव आएपछि,
बोलीले नै तारा झार्छन् चुनाव आएपछि,
संसारकै सर्वज्ञ र शक्तिशाली नेता
सुट-टाइ लगाई गोरु नार्छन् चुनाव आएपछि।
४) मुक्तक
सधाएका बुढा गोरु फेर्नैपर्छ भन्छौ किन
नदाएका बाछा जोती हेर्नैपर्छ भन्छौ किन
यी दुवैले गाडा तान्न गाह्रो हुने थाहै होला
नयाँ पुस्ता (जेन-जी) हाम्रा कुरा टेर्नै पर्छ भन्छौ किन?
५) मुक्तक
चोरी ठगी लुटपाट गर्छौ चन्दन लाउने गर्छौ
कंशको काम गरी कृष्णभजन गाउने गर्छौ
लुकीछिपी अपराधी कामै गरीगरी
सबै पाप पखाल्नलाई मन्दिर धाउने गर्छौ।
प्रकाशित: १० माघ २०८२ ११:४२ शनिबार





