४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

लघुकथाका स्रष्टाहरूलाई सम्मान

हाम्रो लघुकथा केन्द्रले लघुकथाका ४ स्रष्टालाई सम्मान गरेको छ। केन्द्रले ‘हाम्रो लघुकथा केन्द्र–२०८२’ सम्मानबाट महेश प्रसाईं, ‘हाम्रो लघुकथा समालोचना सम्मान-२०८२’ बाट प्राडा कपिल लामिछाने, ‘हाम्रो लघुकथा नारी सम्मान-२०८२’ बाट गङ्गा कर्माचार्य पौडेल र हाम्रो लघुकथा केन्द्र ‘योगनाथ बास्तोला लघुकथा सम्मान-२०८२’ बाट रमेन्द्र कोइरालालाई सम्मान अर्पिएकाे छ।

दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा केन्द्रले २०२९ बाट लघुकथा लेखन गर्दै आएका स्रष्टा महेश प्रसाईंलाई नगद रुपियाँ ११,१११/– सहित ‘केन्द्र लघुकथा सम्मान’, प्राडा कपिल लामिछानेलाई नगद रुपियाँ ११,१११/– सहित केन्द्र समालोचना सम्मानबाट –२०८२, गङ्गा कर्माचार्य पौडेललाई नगद रुपियाँ ५,५५५/– सहित केन्द्र लघुकथा नारी सम्मान र रमेन्द्र कोइरालालाई नगद रुपियाँ ५,५५५/– सहित योगनाथ बास्तोला लघुकथा सम्मान अर्पिएकाे हाे।

केन्द्रको अक्षय कोष, पिता रामकेशर पौडेल र भवानी पौडेलको नाममा सुपुत्र जनार्दन पौडेलले प्रदान गरेको रकम, पिता सुकु खत्री र माता बिजु खत्रीको नाममा सुपुत्र कमल केसीले उपलब्ध गराइएको रकम तथा मोफसलका स्रष्टालाई गत सालदेखि सुपुत्र कृष्णप्रसाद बास्तोलाले आफ्ना स्वर्गीय पिता योगनाथ बास्तोलाको नाममा स्थापना गरिएको ‘योगनाथ बास्तोला लघुकथा सम्मान –२०८२’ को रकमबाट प्रदान गरिएकाे हाे।

सम्मानित स्रष्टाको चयन साहित्यकार किशोर पहाडीको संयोजकत्वमा गठन गरिएको जयदेव भट्टराई र सदस्य सचिव मिसु श्रेष्ठको समितिले गरेको हो।

 उक्त सम्मान कार्यक्रममा केन्द्रका आजीवन सदस्यका साथै २०८१ मा केन्द्रले आयोजना गरेको उपत्यकाव्यापी लघुकथा प्रतियोगितामा सहभागी विद्यार्थीहरूबाट लिखित लघुकथासङ्ग्रहको सङ्कलन गरेको हाम्रो लघुकथा संयुक्त लघुकथासङ्ग्रह पनि लोकार्पण गरेको थियो।

गणेश गुठी धिमे खलको धिमे बाजा बजाएर अतिथिलाई स्वागत गरी सुरुआत गरिएको उक्त कार्यक्रममा श्रीब्रह्मानन्दसरस्वती वैदिक गुरुकुलम्‌बाट उपस्थित विद्यार्थी र शिक्षकले स्वस्तिशान्ति पाठ वाचन गरेका थिए।

केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षता र दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हाे।

कार्यक्रममा उपमेयर वसन्ती तामाङ डङ्गोल, साहित्यकार कृष्ण प्रधान, किशोर पहाडी, जयदेव भट्टराई, सल्लाहकार लता केसी, दामोदर अधिकारी, श्रीकृष्ण सहकारीका अध्यक्ष अमरसिंह बस्नेत, महेश प्रसाईं, प्राडा कपिल लामिछाने, गङ्गा कर्माचार्य पौडेल, रमेन्द्र कोइरालाले सामूहिक रूपमा पुस्तक लोकार्पण गरेका थिए।

साहित्यकार एवम् निर्णायक समितिका संयोजक किशोर पहाडीले सम्मानित स्रष्टा चयन प्रक्रिया बताएका थिए। कार्यक्रममा साहित्यकार मनीषकुमार शर्माले सम्मानित स्रष्टा महेश प्रसाईंकाे बारेमा बाेलेका थिए।

त्यस्तै मिसु श्रेष्ठले प्राडा कपिल लामिछाने, रमेश सुवेदीले गङ्गा कर्माचार्य र शान्ता तिम्सिनाले रमेन्द्र कोइरालाकाे परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए।

केन्द्रका उपाध्यक्ष सत्या अधिकारीले शब्दमार्फत उपस्थित जनला

स्वागत गरेकी थिइन्। उक्त कार्यक्रममा बद्री कार्की, रमेश सुवेदी, गङ्गा खड्का र निर्मला बरालले प्रमाणपत्र वाचन गरेका थिए।

कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रचण्डमानसिंह बस्नेत र सेतीदेवी माविका प्रधानाध्यापक रामकुमार बस्नेतले शुभकामना मन्तव्य राखेका थिए।

साहित्यकार कृष्ण प्रधानले सम्मानित स्रष्टालाई बधाई दिँदै दक्षिणकाली नगरको प्राकृतिक सुन्दरतामा साहित्यकारका लागि साहित्य कुटी नगरले निर्माण गर्नुपर्ने बताए।

कार्यक्रममा उपमेयर डङ्गोलले साहित्य हब बनाउने कुराका साथै दक्षिणकाली प्रज्ञा प्रतिष्ठानको काम अगाडि बढेकाले नगर अझै सक्रिय बनेको बताए।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरमा पर्यटक आकर्षणका लागि साहित्यिक हब बनाउन अगाडि बढ्ने प्रतिबद्धता गरेका थिए।

सम्मान तथा लोकर्पण कार्यक्रमको सञ्चालन सचिव रामराजा केसीले गरेका थिए। कार्यक्रममा धनवन्तरी मिश्र, रामकुमार पण्डित, लीलाराज दाहाल, डा. छायादत्त न्यौपाने, शेखर अर्याल, राजाराम राउत, पुष्कर खड्का, तेजप्रकाश श्रेष्ठ, खेमराज पोखरेल, रजनी खत्री, रामेश्वर जलन, ममता मृदुल, राज रजक, भीमनारायण श्रेष्ठ, पीपी कोइराला, ललिता दोषी, प्रभात दीक्षित, समीपजङ्ग केसी, आवेश मिश्र, अजित आचार्य, वीरेन्द्र मालाकार, मनोज कर्माचार्य, सरोज बलामी, सम्पदा ढकाल, भानुप्रकाश जोशीलगायत साहित्यकार र स्थानीय व्यक्तिहको उपस्थिति थियो।

कार्यक्रममा नगर प्रमुख बस्नेतले दक्षिणकाली नगरमा साहित्यको गतिविधिले नगरको प्रतिष्ठा बढेको धारणा राखेका थिए।

नेपाली पहिलो लघुकथाकार सिद्धिचरण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरी सुरुआत भएको थियो। सिद्धिचरण श्रेष्ठको १९९२ सालको गोरखापत्रमा प्रकाशित प्रतिहिंसा लघुकथालाई हालसम्म पहिलो लघुकथा मानिएको छ।

प्रकाशित: २० वैशाख २०८३ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App