धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति र सुशासनमार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै उनकी आमा जसमाया राईलाई ‘माैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ।
सुपुत्र जन्माएर समाजलाई असल नागरिक दिएको भन्दै ‘कोखको सम्मान’ स्वरूप उनलाई नगद ५० हजार र ताम्रपत्रसहित सम्मान गरिने भएको हो।
अनलाइन अभिलेख प्रालिले संस्थापक डा. पुरण राईको जन्मदिनको अवसर पारेर मंगलबार एक कार्यक्रम आयोजना गरी उक्त सम्मानको घोषणा गरेको हो।
साहित्यकार डा. चमा थुलुङ (सुकराज राई) संयोजक रहेको छनोट समितिले राईलाई सम्मान गर्ने निर्णय गरेको हो। समितिमा टंक भट्टराई, सम्पदा लिम्बू, योगेन्द्र राई र डिल्लीरमण सुवेदी सदस्य रहेका छन्।
पुरस्कारका संस्थापक डा. पुरण राईले भाषा, साहित्य, कला, संस्कृति वा राजनीति जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वकी आमालाई सम्मान गरेर ‘कोखको सम्मान’ गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको जानकारी दिए।
‘धेरै क्षेत्रमा पुरस्कार स्थापना भएका छन् तर आमाको नाममा कम छन्। त्यसैले ‘कोखको सम्मान’ तथा आमाको सामाजिक सुरक्षाका लागि यो सम्मानको थालनी गरिएको हो,’ डा. राईले भने।
खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थायी घर भएकी जसमाया राई हाल धरानमा बस्दै आएकी छन्।
सम्मानलाई संस्थापककी आमा, सम्मानित व्यक्तित्व, कुनै विशेष महिलाको जन्मदिन वा चाडपर्वको अवसर पारेर अर्पण गर्ने प्रावधान रहेको आयोजकले जनाएको छ।
प्रकाशित: २८ श्रावण २०८२ १९:१० बुधबार





