शाहरुख खानले आइतबार आफ्नो ६०औँ जन्मदिन पूरा गरेका छन् । ‘बलिउड बादशाह’का रुपमा चिनिने शाहरुखका फ्यानहरूले सधैं जस्तो यस वर्ष पनि मुंबईस्थित उनको निवास मन्नत बाहिरका सडकलाई प्रेमको सागरमा परिणत गरेका थिए ।
फ्यानहरूले पोस्टर र ब्यानरमा ‘वि लभ यू शाहरुख’ र ‘जन्मदिनको शुभकामना किङखान’ लेखेर सडकमा घेराबन्दी गरेका थिए । उनको नामको जयजयकार र स्वरले मन्नत वरिपरि वातावरण उत्सवमय भएको थियो । धेरै फ्यानहरूले उनलाई केवल एक पटक मात्रपनि बाल्कोनीमा देख्न आशा गर्दै हजारौं किलोमिटर यात्रा तय गरेर आएका थिए ।
कोलकाताबाट आएका उनका एक समर्थकले ३३ घण्टा लामो रेल यात्रा गरी यहाँ पुगेको बताए । उनले एएनआईसँग भने, ‘हामी कोलकाताबाट यहाँ आएका हौं । ३३ घण्टाको रेल यात्रा पछि पनि हाम्रो उद्देश्य एउटै छ, शाहरुखलाई हेर्नु । हामी विश्वस्त छौं कि आज वा भोलि उनलाई देख्ने मौका पाउँछौं ।’
शाहरुख खानको यात्रा पनि प्रेरणादायक छ । दिल्लीमा जन्मेका उनले १९८९ मा टेलिभिजन सिरियल फौजीबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि सर्कस लगायतका शोमा देखा परेका उनी १९९२ मा फिल्म दिवानाबाट बलिउडमा प्रवेश गरे । यो फिल्मले उनलाई फिल्मफेयर अवार्ड दिलायो ।
उनको जीवनको निर्णायक मोड आयो १९९५ मा रिलिज भएको दिलवाले दुल्हनिया ले जाएंगे । राजको भूमिकामा उनले रोमान्सको नयाँ परिभाषा प्रस्तुत गरे र ‘किंग अफ रोमांस’ बने । त्यसपछिका वर्षहरूमा कभी खुशी कभी गम, स्वदेश, देवदास, माय नेम इज खान जस्ता फिल्महरूले उनको लोकप्रियता अझ बढाए ।
६० वर्षको उमेरमा पनि शाहरुख खान फिल्म उद्योग र फ्यानको मनमा वर्चस्व कायम राख्दै आएका छन् । एएनआईको सहयोगमा
प्रकाशित: १६ कार्तिक २०८२ १५:३७ आइतबार





