३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

कपालको रंग, पहिचान र म

निबन्ध

‘पहिले त गोरी हुनुहुन्थ्यो, अहिले के भयो?’ कार्यक्रम सकिँदै गर्दा आएको त्यो प्रश्न जिज्ञासा मात्रै थिएन, टिप्पणी पनि थियो। घामले छालामा पारेको असरभन्दा बढी, समाजको नजरले पार्ने असर गहिरो हुन्छ भन्ने कुरा त्यस दिन अझ प्रस्ट भयो।

मेरो लागि अब अनुहारका दाग हटाउने उपायहरू गुगल र युट्युबमा खोज्ने विषय बन्न थाले। मान्छेपिच्छे उपाय फरक–फरक। दही र बेसनदेखि एलोभेराको लेपसम्म लगाउने उपायहरू त्यहाँ थिए।

सन ट्यानिङ बढ्दै गइरहेको थियो, त्यसैले चेकअप गराउन गएँ।

डाक्टरले अनुहारमा बढेको मेलानिनका कारण बताए - घाम, टिभि र मोबाइलका स्क्रिन, हेयर डाइ।

“कपाल कलर नगर्नुहोला, एलर्जी छ।” उनको स्पष्ट सल्लाह थियो।

हेयर डाइ नलगाउने कुरा सम्भव थियो तर कम्प्युटर र मोबाइलबाट टाढा रहने सल्लाह व्यवहारिक थिएन। स्वास्थ्य जोगाउन खोज्दा सौन्दर्यसँग सम्झौता गर्नुपर्छ भन्ने सत्य त्यहीँबाट सुरु भयो।

अनुहारमा मेलानिन बढ्नुको सिधा सम्बन्ध हेयर डाइसँग थियो। हेयर डाइ नगर्नु भनेको कपाललाई सेत्तिन स्वतन्त्रता दिनु थियो। कपालको सेतोपनासँग अहिले नै मितेरी लाउन मन नलाग्नुका अरू पनि केही कारण थिए। हरेक पटक ऐना हेर्दा आफ्नै प्रतिबिम्ब नरमाइलो मान्थ्यो। देख्नेहरू बिरामी हो कि भनी सोध्थे। उमेर र अनुभवले खारिएर फुलेका कपाल भए पनि एउटा गरिमा हुन्थ्यो। त्यहाँ गर्वसहितको आत्मसन्तुष्टि हुन्थ्यो। घरमै सीमित जीवन हुने भए सायद त्यति अप्ठेरो हुँदैनथ्यो तर समाजको नजरभित्र हिँड्नुपर्नेहरूका लागि यी सेता कपाल वैरीझैं लाग्दा रहेछन्। शुरूमा फाट्टफुट्ट एकदुई सेता कपाल देखिंदा परिपक्क भएकी अनुभूति हुन्थ्यो। पछि यसको बढ्दै गएको संख्याले आत्मविश्वास खोस्दो रहेछ।

कपालको रंग देखेर एक दिन माइक्रोमा सहचालकले भन्यो,“आमा, अलि उता सर्नुस्।”

घर आएलगत्तै ऐना हेरेँ। दिक्क लाग्यो। यस्ती देखिइसकेँ र म? अनुहारभन्दा पहिले कपालले मेरो उमेर घोषणा गरिसकेको थियो। कपाल टाउकोमाथिको रौं मात्र नभई समाजले दिने परिचयपत्र र फैसला पनि रहेछ। मन खुम्चियो। सहचालकको सम्बोधनमा आदर थियो तर मनले त्यसलाई सजिलै स्वीकार्न सकेन।

डाइको प्रयोग गरेपछि कपाल फुल्ने गति दुई गुणा चारभन्दा बढी हुने रहेछ। सेता कपाल बढ्दै जाँदा प्रश्न रंगको मात्र रहेन, पहिचानको पनि भयो। कपाल कालो हुँदा ‘दिदी’, सेतिँदा ‘आमा’ भनिनु -यो सम्बोधनको फेरबदल मात्र थिएन। सायद उमेरसँगै सम्मान र आकर्षण छुट्याउने समाजको आफ्नै तरिका पनि थियो।

कहिलेकाँही समय अगावैको यस्तो सम्मान पनि बोझिलो लाग्छ। भोलिपल्टै कपालमा प्राकृतिक मेहन्दी लगाएँ। नरमाइलो कुरा, मेहन्दी फिका हुँदै जाँदा यसमा सुन्तला रंग बस्छ। त्यस्तै भयो  - न कालो, न सेतो। पूरै सुन्तले।

“कुनैकुनै बाँदरका रौँ पनि सुनौला हुन्छन्,” एकदिन चिया गफमा मेरो कपाल देखेर साथीले सहजै भनी।

रिसाउने कि हाँस्ने भयो। बुझें -यो रंग सुहाएन मलाई।

लाग्यो, समाजलाई पनि स्पष्ट पहिचान नै मन पर्छ - तन्नेरीहरूको उत्साह वा वृद्धका मौन स्वीकृति। सायद बीचको अवस्थाले अलल्याउँछ धेरैलाई।

बजार निस्कँदा आँखा विभिन्न खाले हेयर डाइमा पर्थे। दुई–चार पटक किन्न निस्किएँ पनि तर एलर्जीको डरले किन्ने आँट गरिहाल्न सकिनँ।

धेरै दिनपछि ‘एमोनिया फ्री’ हेयर डाइ किनेर ल्याएँ। आफ्नो स्वविवेक कि अरूका दृष्टिकोण कुन छान्ने- यो द्वन्द्व मनभित्र अझै बाँकी थियो।

डर र आशको दोधारमा हेयर डाइ लगाएँ। साथीले भनी, “राम्रो देखिएको छ।”

त्यो दिन केही भएन। जे हुनु भोलिपल्ट भयो। अनुहार सुन्नियो, कपाल चिलायो - शरीरले स्पष्ट विरोध जनायो।

सुन्दर देखिनुको मूल्य सानो थिएन।

अर्को डाक्टरले भने,“जति नै ब्रान्डेड भने पनि हेयर डाइमा केमिकल भैहाल्छ। सेतो कपाल अहिले त फेशन बनेको छ। बानी पर्दै गएपछि गाह्रो हुँदैन।”

कुरा सही थियो। सेतो कपाल हुनु अनौठो वा अस्वाभाविक होइन। तर पनि यो प्राकृतिक प्रक्रियालाई हामीमध्ये धेरैले किन सहर्ष स्वीकार्न सक्दैनौँ? किन अनुभवले पकाएका कपालहरू लुकाउन खोज्छौँ- मानौँ कुनै कमजोरी ढाक्न खोजेझैँ?

के सधैँ जवान देखिन चाहनु हामीभित्रको असुरक्षा हो, कि समाजको दबाब?

आँट गरेर कपाल सेतै बनाए पनि गाह्रो कुरा त हेर्ने नजर र टिप्पणीहरूको सामना गर्नु रहेछ। आफूलाई स्वीकार्नुभन्दा गाह्रो अरूले स्वीकारून् भन्ने चाहना छोड्नु रहेछ।

आफ्नो कपालमाथि पर्ने दृष्टि र टिप्पणीहरूका उक्साइबीच हेयर डाइ नगर्ने अडानमा टिकिरहन सजिलो छैन - थाहा छ। कति दिनसम्म टिकिरहन्छु, भन्न सक्दिनँ।

अहिले त कपालको रंग छुट्ने प्रतीक्षामा छु।

पर्खिरहेकी छु -सेतो कपाललाई मात्र होइन, सेतो कपालसँग सहज हुने हिम्मतलाई पनि।

प्रकाशित: ३० फाल्गुन २०८२ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App