२७ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

गलगाँड बोकेको हैबार

यात्रा

रोसीमै छौं अझ। परसम्म कतै छैन सडकको नाकनक्सा। कहाँ थियो राजमार्ग छुट्याउन मुस्किल पर्छ मलाई। बगरमा गुडेको छ गाडी, लड्ला लड्लाझैं गरेर। कताकतै देखिन्छ सडकको अवशेष। भत्किएको ढलान उत्तानो परेर पसारिएको छ यत्रतत्र।

अलि माथि पुगेपछि सडक छेउमा लहरै छाप्राहरू देख्छु। छाप्राहरूको अगाडि देख्छु पसलहरू पनि। खरले छाएका जस्ता साना साना टहरा लहरै बसेका छन् बगरमा दोकान बनेर। बेलको मौसम छ। बेल छन् सबैतिर। बेलसँगै देख्छु ढाकीभरि तित्री (इमली)। मेरो जिब्रोले सरर पानी छोड्छ। सिन्धुलीको बाडीगाउँ बस्दा तित्री खाएको स्वाद मुखभरि आउँछ। ओबेको बारीमा थियो तित्रीका ठुला ठुला दुईवटा रूख। मामाघरभन्दा माथि थियो ओबेको घर। म निकै सानी थिएँ, बेलको रूख ठुलो थियो। टिपेर खाने ल्याकत थिएन। अनि खानेपानी लिन ठाकुर खोला जानुपथ्र्यो। पानी लिन जाँदा पनि भेटिन्छ कि तित्री भन्दै भुइँमा आँखा गाडेर हिँडेको देख्छु आज रोशीको बगरबाट। भुइँमा झरेका तित्री टिप्नकै लागि बिहान बिहानै नै तामाङ दाइको बारीतिर हामी बरालिन्थ्यौं। अहिले रोशी किनारमा देखिएको तित्री हरियो छ। हरियो तित्री आगोमा पोलेर पनि खान्थ्यौं। ‘मज्जाले पाकेको तित्री भाटभटेनीमा जति पाइन्छ छोड, अहिले न किन्ने,’ निता दिदी सम्झाउँछे। गाडी अगाडि बढ्छ। पछाडि छोडिँदै जान्छन् बेल र तित्रीका बजार। मेरो अतीत पनि धुमिल बन्दै जान्छ।

देखिन्छ परैबाट कुशेश्वर महादेवको मन्दिर। दर्शन गर्न जाने सल्लाह हुन्छ निमेषभरमा। खोलाबिचमा छ कुशेश्वर महादेव। दुवैतिर छ कोसी। बाढी आउँदा किन बगाएन कुशेश्वरको भूगोल । छक्क लाग्ने दृश्य छ। कस्तो देखिएको थियो होला नदी बौलाएको त्यो दिन। कोसी कसरी उर्लिएको थियो होला?

मन्दिरभित्र झ्याम्म देखिन्छन् आँपका बोटहरू। चिचिला लागेका हाँगा हावामा झुल्दैछन्। लरीवरी देखिन्छ टिकुला। मन्दिरभित्र प्रवेश गर्दै करबद्ध भएर प्रार्थनासाथ परिक्रमा गर्छौं। वसाहानजिक गएर वर पनि माग्न भ्याउँछौं। सफा छ महादेवको मूर्ति। पूजा पनि विधि पुर्‍याएर गर्छन्। बटुकले टीका लगाउँदै मंगल ध्वनिका साथ आशीर्वादका मन्त्र उच्चारण गर्दा शरीरभरि ऊर्जा सञ्चारित भयो। हामी घरी स्याउ, घरी सुन्तला, घरी गाजर चपाउँदैछौं। गाडी अगाडि बढ्दैछ। चालक भाइलाई पनि सानो कपमा राखिदिन्छौं जे जे खान्छौं । समय मिलाएर चपाउनुहुन्छ भाइले पनि सजिलै।

मान्छेको भिड छ। खाना खानेहरू गमागम खाएका छन् तातो भात। थकाली स्टाइलमा खाना पस्किएको छ लोभलाग्दो गरी। सिलिङमा घुमेका छन् पङ्खा निरन्तर। हामी पनि नजिकैको टेबुलमा बस्यौं। हात, मुख धोएर आउँदा खाना पनि तयार भइसकेछ। भात हेर्दै खाऊँ खाऊँ जस्तो देखिएको छ। सर्लक्क बसेका छन् भातका सिता चरेसको थालमा। साग, अचार, मिक्स तरकारी, करेलाको भुजिया, मुसुरीको दाल, लसुनले झानेको अनि हरियो सलाद स्वादिलो रहेछ।

नेपाली खाना अडर्र गरे गाइडले। हामीले जसरी भात खान्छौं, उसैगरी मिठो मानेर सिनिक्क पारेर खाए तिनीहरूले पनि नेपाली खाना। भोकभन्दा ठुलो आवश्यकता केही छैन यो संसारमा। स्वादभन्दा माथि छ भोक। स्वाद त आधारभूत आवश्यकता पूरा भएपछि निर्माण हुने वाञ्छा हो। भोक लागेपछि खाना जे भए पनि हुन्छ, कुनै निश्चित पहिचान बाँकी रहँदैन।  

अब हामी हिँड्दैछौं कोसीको तिरैतिर। कोसी मोटाएको छ। मिसिएको छ सुनकोसी र तामाकोसी । मकैका बारी हरिया छन्। धान चमरा हाल्दै गरेका गराहरू लहलह छन्। एउटा सुन्दर फाँट देखियो। यो गाउँको नाम के होला भन्दै थिएँ। झट्ट देखेँ ‘हैबार’ लेखेको एउटा सूचना बोर्ड। मेरो स्मृति पर्दामा एउटा चलचित्र चालु भयो, ‘अगेनामा आगो दनदनी बल्दो छ। छोटो कपाल भएकी सानी केटी बसेकी छ आगो ताप्न। सेता कपाल फुलेकी महिला हातमा कपास लिएर सानीकेटीलाई कथा सुनाउँदैछिन्– हैबारमा रमिता छ। नाचगान चल्दो छ। गाउँलेहरू बडो सकसले हिँडेका छन् यताउता। सबैका घाँटीमा देखिन्छ अस्वाभाविक मासुको एउटा लामो अंग। लौकाभन्दा ठुला ठुला छन् ती अंग। सबै मान्छेका घाँटीमा गलगाँड छ। सानीकेटी सुन्दै छ त्यो गाउँको कथा आमाको मुखबाट। त्यो गाउँमा आफ्ना सन्तानलाई नामले भन्दा पनि विशेषताले बोलाउँछन्। उ सुन त, ‘ए हैबारे गाँडा भनेको किन नमानेको। तँ कस्तो मूर्ख छस्’ भनेँ। त्यसै भनेको हो तँलाई हैबारे गाँडा। आइज भात खान चिसो हुन्छ ।’ सानी केटी छक्क परेकी छ। अहो ! यो गाउँमा त सबैको घाँटीमा गलगाँड पो आएको रहेछ।

कस्तो गाउँ हो यो, सबैको घाँटीमा गलगाँड आउने? सानी केटीकी आमा पनि बारम्बार भन्छे सानी केटीलाई हैबारे गाँडा। कथा सुन्दै छे सानीकेटी, ‘एउटा घरमा नवजात शिशुको जन्म भएको छ। घाँटीमा कुनै गलगाँड छैन। सबै चिन्तित छन्। कस्तो बच्चा जन्मियो भनेर। यो अनिष्ट हुन्छ भन्दै टाउकोमा हात राखेर बसेका छन्। गाउँलेहरू सबैको गलगाँड यामानको छ। कोही काँधमा गलगाँड झुन्ड्याएर हिँडेका छन्। काम गर्न कत्रो सकस। कोही कपडामा बाँधेर हिँडेका छन् गलगाँड। बच्चादेखि वृद्धसम्म सबैको छ घाँटीको शोभा गलगाँड। गाँड नभएका कोही छैनन् गाउँमा। पर्यायवाची बनेका छन् हैबार र गलगाँड।

मासुको लामो गलगाँड बाँसको टाटीमा अड्याएर पल्लो घरको कुरा सुन्दै गरेको एउटा सेतो धोती लगाएको मान्छेलाई कुकुरले झम्टियो। बिचरा! ती मान्छे भाग्न खोज्छन् तर गलगाँड अड्किन्छ टाटीमा। केही सिप लाग्दैन बरा, टाटी नै लिएर भाग्छन्। ‘सानी केटीको हाँसो गाडीभरि पोखिन्छ। म चिन्छु त्यो आदिम हाँसो। म झसङ्ङ हुन्छु, त्यो हाँसो त मेरै हो । त्यो सानी केटी त म नै थिएँ। मेरी आमाले अँगेनामा बस्दा सुनाएको हैबारको दुःखको कथा थियो यो। मेरो हजुरबा हैबार छोडेर रानीचुरी आएका। धन्न गलगाँड आएनन्।

एकचोटि म निकै दुब्लो भएकी थिएँ। मेरो घाँटीको भाग केही अग्लो देखियो। गलगाँड निस्कियो भन्ने चिन्ताले म झन् झन् दुब्लाउँदै गएँ। आमाले सुनाएको हैबारको कथाले मलाई हैरान पार्दै थियो। मैले बारम्बार आफूलाई यामानको गलगाँड आएर त्यही बाँसको टाटीमा गलगाँड अड्याएर बसेको देख्न थालेँ। म सुत्न पनि सकिनँ। छट्पटीमा थिएँ। चिन्ताको अग्निले भष्म पार्दै थियो। आमालाई भन्न डर लाग्यो। केही गल्ती गर्दा पनि हैबारे गाँडा भनेर हकार्नु हुन्थ्यो। झन् झन् मेरो घाँटी उठ्यो शुक्लपक्षको चन्द्रमाजस्तै। मेरो चिन्ता दिनदिनै बढ्दै गयो। ऐना हेर्दै रुन थालेँ।

मलाई शंका यस्तोसँग लाग्यो कि मैले देख्न थालेँ घाँटीमा यामानको गलगाँड। म पनि हैबारे गाँडा त परेँ। निस्कियो अब गलगाँड के गर्नू। म निकै दिन चिन्ताको रापमा सेकिएँ अझ मेरो चिन्ताको आगोमा घिउ हाल्ने काम छिमेकी भाउजूले गर्नुभयो, ‘अहो! अनिता नानी, तपाईंको घाँटीमा त गलगाँडै नै आएको हो।’

भाउजूका कुराले गौरनटोल नै थर्कने गरी म रुन थालेँ। आँसुका ढिका गाला हुँदै गलगाँडतिर झर्न थाले। यस्तोसम्म भ्रम पर्‍यो कि मेरो घाँटीमा अहिले नै झुन्डिएको छ गलगाँड।

मेरो चित्कार सुनेर परिपक्क भाउजू भन्नुहुन्छ, ‘के रोएको नानी! यसरी बेलैमा डाक्टर देखाउनुपर्छ। चिरेर फाल्छन् अचेल। सबै जाती हुन्छ।’

अतीतको पर्दामा मेरो रोदनको मलाई बडो माया लाग्यो। मैले भर्खरै आफ्नो घाँटी छामेँ, गलगाँड आजसम्म आएको छैन तर हैबारको कथाले नराम्रो मनोविज्ञान मलाई दियो। त्यसैले मलाई लाग्छ कथा पनि छानेर सुनाउनुपर्छ बच्चालाई। होला, हैबारमा आयोडिनको कमी थियो होला। सबैलाई एउटै समस्याले जकड्यो होला तर मेरो बालमनोविज्ञानमा निकै असर गरेको मलाई थाहा छ। मेरो शरीर दुब्लो हुँदा देखिएको घाँटीको हड्डी मात्र रहेछ आखिर। त्यो डरको गलगाँड पो रहेछ त!  

प्रकाशित: ६ मंसिर २०८२ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App