सरकारले ‘भिजिट नेपाल २०८५’ को पूर्व तयारीका लागि अन्तर्राष्ट्रिय प्रवर्द्धन मा जोड दिने नीति ल्याएको छ। नेपालमा विदेशी पर्यटकको आगमन बढाउने, प्रति पर्यटक खर्च वृद्धि गर्ने तथा पाहुनाको बसाई अवधि बढाउने गरी अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनको योजना सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ।
सरकारले नीति तथा कार्यक्रममार्फत ‘भिजिट नेपाल’को योजना प्रस्तुत गरेको भएपनि ती योजना पुरा गर्न भने सहज नभएको सरोकारवालाको भनाई छ। किनभने नेपालमा विदेशी पाहुनाको बसाई अवधि घटिरहेको छ भने खर्च गर्ने क्षमताका पाहुना पनि भित्र्याउन चूनौतीपूर्ण छ। नेपालको अन्तर्राष्ट्रिय हवाई सेवाको पहुँच सहज नहुँदा उच्च खर्च गर्ने पाहुना भित्र्याउन नसकेको व्यावसायीले बताउँदै आएका छन्।
पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने भन्छन, ‘पाहुनाको आकार बढाउन त सकिन्छ। तर, बसाई अवधि बढाउने काम चूनौतीपूर्ण छ। किनभने पछिल्लो समय पाहुनाले छोटो समयमा धेरै गन्तव्य घुम्न रुचाउने गरेका छन्। पाहुनाले कम समयमा धेरैवटा गन्तव्य घुम्न चाहने भएकोले बसाई अवधि बढाउने काम सहज होईन।’ उनका अनुसार पछिल्लो समय विश्वव्यापी रुपमै लामो समय बस्ने पाहुनाको संख्या घटिरहेको छ।
कोरोना संक्रमणको प्रभाव रहिरहँदा सन् २०२१ मा नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि सबैभन्दा बढी थियो। त्योवर्ष विदेशी पाहुनाले औसतमा १५.५ दिन नेपालमा बिताउँथे। सरकारले पर्यटकको बसाई अवधिको तथ्यांक राख्न थालेदेखिको त्यो नै सर्वाधिक बसाई अवधि थियो। त्यसअघिको वर्ष सन् २०२० मा नेपालमा विदेशी पाहुनाको बसाई अवधि औसतमा १५.१ दिन थियो।
तर, सन् २०२२ पछि नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि ओरालो लाग्न थालेको थियो। २०२२ मा विदेशी पाहुनाको नेपाल बसाई अवधि औसतमा १३.१ दिन थियो। त्यो अवधि सन् २०२३ मा १३.२ दिन र सन् २०२४ मा १३.३ दिन थियो। कोरोना संक्रमणपछिका वर्ष बसाई अवधि ओरालो लागेको थियो। पछिल्लो तीनवर्षदेखि करिब एकैखालको बसाई अवधि रहेको सरकारी तथ्यांक छ। विदेशी पर्यटकको बसाई अवधि बढाउन नसक्दा लाभ लिन नसकेको व्यावसायीले बताउँदै आएका छन।
लामिछाने भन्छन, ‘पर्यटकको बसाई अवधि बढ्नै सकेको छैन। यसले गर्दा पर्यटन क्षेत्रले लाभ लिन सकेको छैन।’ उनका अनुसार कोरोना संक्रमणको बेला नेपालमा साहसिक गतिविधिका पाहुना भित्रिएको हुनाले बसाई अवधि बढि भएको हो। किनकी पदयात्रा र हिमाल आरोहणमा भित्रिने पाहुनाको बसाई अवधि स्वतः बढी हुन्छ। कोभिडका बेला घुमघाम र धार्मिक उद्देश्यले भित्रिने पाहुना कम थिए।
लामिछानेका अनुसार नेपालमा भित्रिने पाहुनामध्ये करिब ६३ प्रतिशत पाहुनाको बसाई अवाधि औसतमा ५ दिन रहेको छ। ती मुख्य सहरी क्षेत्रका गन्तव्य घुमघामका पाहुना हुन। छोटो अवधिको घुमघाममा आउने पाहुनाहरु काठमाडौं, पोखरा र चितवन क्षेत्र घुमेर फर्किन्छन। नेपालमा धार्मिक दृष्टिले भित्रिने पाहुना करिब १३ प्रतिशत रहेका छन। ती पाहुना बढिमा सातदिनसम्म मात्र नेपालमा बस्छन।
पदयात्रा र पर्वतारोहणका पाहुनाको बसाई अवधि बढी हुन्छ। हाराहारीमा २४ प्रतिशत पर्यटक पर्वतारोहण र पदयात्राका रहेको उनले बताए। पदयात्रा अवधि र पर्वतारोहणका पाहुना कम्तिमा पनि १० दिन नेपालमा बस्छन। सबैभन्दा बढी समय बस्ने पाहुना नै आरोहणका लागि भित्रिएका पाहुना हुने उनले बताए।

पाहुनाको दैनिक खर्च क्षमता पनि कमजोर बनिरहेको छ। सरकारी तथ्यांक अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकले दैनिक ४१ अमेरिकी डलर खर्च गर्ने गरेका छ। पर्यटन मन्त्रालयको तथ्यांकमा विदेशी पर्यटकले सन् २०२३ मा औसतमा दिनमा ४१ अमेरिकी डलर खर्च गरेको उल्लेख छ। यो खर्च सन् २०२२ मा ४०.५ अमेरिकी डलर थियो। पर्यटन व्यावसायीले विदेशी पर्यटकले गरेको खर्च रकम कम भएकोले गतिविधि बढाएर खर्चने क्षमता बिस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
‘बसाई अवधि बढाउन नसकेपनि पाहुनाको खर्च गर्ने क्षमता भने बढाउन सकिन्छ। महंगा पाहुनालाई भित्र्याउने हो भने उनीहरुको खर्च गर्ने क्षमता बढि हुन्छ,’ लामिछानेले भने, ‘राम्रो प्याकेज दिएर पाहुनालाई तान्न सक्नुपर्छ। पर्याप्त खर्चन सक्ने मुलुकका पाहुना भित्र्याउनमा जोड दिनुपर्छ।’ व्यावसायीबीच अस्वस्थ प्रतिश्पर्धा पनि हुन नहुने उनले बताए। अस्वस्थ प्रतिश्पर्धाले पाहुनाको खर्च गर्ने क्षमता कमजोर हुन्छ। ‘नेपालले मुख्य पर्यटकीय बजारसम्म बजारीकरण गर्न सकेको छैन। भारतकै पनि महंगा पाहुनासम्म पहुँच पुर्याउनुपर्छ । अहिलेसम्म आएका पाहुना सस्ता छन्,’ उनले भने, ‘अमेरिकी र यूरोपियन बजारका महंगा पाहुना भित्र्याउन सक्ने हो सरकारी नीति अनुसार लक्ष्य पुरा गर्न सहज हुन्छ।’
पाहुनालाई पर्याप्त खर्च गराउनका लागि नेपालमा पर्याप्त सुविधा नै नभएको पनि उनले बताए। अन्तर्राष्ट्रिय विमानस्थलसम्म पनि ठूला आकारमा जहाज आउन नसक्दा महंगो यात्राका पाहुना हच्किने गरेका छन्। अहिले भित्रिने भन्दा ठूला जहाज भित्रिने हो आरामदायी यात्रा खोज्ने पाहुना भित्रिन सक्ने उनको भनाई छ। त्यसबाहेक पाँचतारे होटलको संख्या पनि कम संख्यामा छन्। पोखरामा त एउटा मात्र चालु अवस्थाको पाँचतारे होटल रहेको छ।
‘गुणस्तरका त पाहुना नै भएनन। पाहुनाले चाहेर पनि खर्च गर्ने ठाउँ नेपालमा छैन,’ लामिछानेले भने, ‘महंगा पाहुना भित्र्याउनका लागि अहिले भन्दा फरक र अलि परका गन्तव्यमा नेपालको सिधा हवाई पहुँच हुनुपर्छ। अहिलेको नेपालसम्मको यात्रा झन्झटिलो र महंगो छ।’
सरकारले भिजिट नेपालको नीति तथा योजनामा हवाई पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विकास गर्ने पनि समेटेको छ। नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने सरकारी योजना छ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने पनि सरकारी योजना छ।
नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रुपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि सरकारी नीति छ। त्यस्तै समुदायद्वारा सञ्चालित होमस्टे, स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी प्रवर्द्धन गर्ने योजना पनि सरकारी नीतिमा छ। जीवित संग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँचहजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आवद्ध गर्ने पनि सरकारी योजना छ।
नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न पर्वतारोहण, ट्रेकिङ, र्याफ्टिङ्, प्याराग्लाइडिङ, बञ्जी जम्प, स्काइडाइभिङ लगायत साहसिक पर्यटन पूर्वाधारमा ध्यान दिने सरकारी नीति छ। अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई सुदृढ गर्दै प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गर्ने पनि सरकारी नीति छ। हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तिमा दशवटा नयाँ पदमार्ग पहिचान र प्रवर्द्धन गर्ने पनि सरकारी योजना छ।
व्यावसायी भने सरकारी योजनालाई पुरा गराउन अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पहुँचमा सहजता दिलाउनुपर्ने बताउँछन्। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी भन्छन, ‘आफ्नै ध्वजाबाहक जहाज हुने र यूरोपसम्म पहुँच बिस्तार गर्ने हो भने पाहुना आउन समस्या हुँदैन। त्यसले पाहुनाको संख्या पनि बढाउँछ, महंगा पाहुना भित्र्याउन पनि सकिन्छ।’ अहिलेसम्म पाहुनाको खर्च कम हुनु संख्या बढाउन नसक्नुमा पहुँच कमजोर भएको उनल बताए।
प्रकाशित: २९ वैशाख २०८३ १६:१४ मंगलबार





