"छोराले खोलेको नयाँ कम्पनीको आज उद्घाटन छ रे।" दीपेश बुबा झर्केझैँ बोल्यो।
दीपेशको बाबाआमालाई विदेशबाट उच्च शिक्षा हासिल गरेको छोराले केके नै गर्ला भन्ठानेको आफ्नै देशको विकास गरेर स्वदेशका युवाहरू र काम नपाएकाहरूलाई रोजगार दिने भनेर कम्पनी खोलेको छ।
" खै हामीले भनेको मानेन चित्त नबुझेर के गर्नू। हेर्नुस् न कस्तो राम्रो ठाउँमा ठूलो भवन रहेछ। " आमाले खुशी हुँदै बोलिन्।
"अब आइसक्यौँ रिसाउनु हुँदैन।" उनले छोराले बिहान आशीर्वाद माग्दै ढोगेर गएको सम्झिन्।
कम्पनी झकिझकाउ सजिएको छ। चहलपहल पनि राम्रै छ। दिपेशलाई भने चटारो छ।
उसले बाबाआमालाई अगाडि लगेर सम्मानसहित बसाएर कार्यक्रम शुरू गर्यो।
" मेरो बाबाआमा मेरो जन्मदाता मात्र नभएर पहिलो गुरूवर्ग हुनुहुन्छ। म बाँचुन्जेल उहाँहरूले देखाएको मार्गदर्शनमा हिँड्ने प्रणय गर्दछु ।"
छोराको कुराले उनीहरूको रिस मरिसकेको थियो।
"अब म लामो कुरा गर्दिनँ। कम्पनी खुलेको त पन्ध्र दिन भयो तर विधिवत् रूपमा उद्घाटन भने आजको यस विशेष दिनमा हुँदैछ। यस कम्पनीको नामको पर्दा हटाएर जसमा मेरो बाबाआमाको नाम छ, साथै दीयो प्रज्वलित गरी उद्घाटन गरिदिन श्री रामप्रसादज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँ शिक्षक पदबाट अवकाश लिएर हिजोसम्म यस कम्पनीको गार्डको रूपमा कार्यरत हुनुहुन्थ्यो। आज गुरू पूर्णिमाको दिन उहाँलाई यस कम्पनीको प्रमुख पद गुरू दक्षिणास्वरूप ग्रहण गरिदिन अनुरोध गर्दछु।"
प्रकाशित: १७ श्रावण २०८३ १०:३६ आइतबार





