१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

विश्व कीर्तिमानी आरोही निम्सदाइलाई गिनिज वर्ल्ड रेकर्डसले यसरी सम्झियो

प्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधनको दुःखद खबरले सिंगो पर्वतारोहण क्षेत्र अझै पनि शोकमा डुबेको छ। 

पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित ब्रोड पिक हिमालमा बिहीबार गएको हिमपहिरोमा परी उनीसहित १० जना आरोहीको ज्यान गएको थियो। यस दुर्घटनामा नेपालका पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पाका साथै विदेशी आरोहीहरू सोहेल शाखी, वाङ झोङ, नादिरा अहमद र म्यालोरी गेइसले पनि ज्यान गुमाएका थिए। 

निम्सदाइको निधनको खबरले विश्वभरका उनका प्रशंसक र विभिन्न संस्थाहरूलाई स्तब्ध बनाएको छ। पर्वतारोहण क्षेत्रमा उनले पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै गिनिज वर्ल्ड रेकर्ड्सले यी विश्वविख्यात आरोहीले मानव इतिहासमा रचेका कीर्तिमान र साहसलाई गहिरो श्रद्धासाथ स्मरण गरेको छ। 

सन् २०१९ मा संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मात्र ६ महिना ६ दिनभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गरेसँगै उनी चर्चाको शिखरमा पुगेका थिए। उनले आफ्नो जीवनकालमा १८ वटा गिनिज वर्ल्ड रेकर्ड बनाएर मानव शरीरको क्षमता र सीमालाई नै नयाँ परिभाषा दिएका थिए। उनको नाममा आठ हजार मिटरभन्दा माथिका हिमालहरूमा ५६ पटक सफल आरोहण गर्नुका साथै पूरक अक्सिजन बिना २८ वटा शिखरहरू चुमेको अद्भुत कीर्तिमान छ। 

यसबाहेक, मे २०१९ मा सगरमाथा, ल्होत्से र मकालु हिमाल केवल ४८ घण्टा ३० मिनेटभित्र सफल आरोहण गरी 'ट्रिपल क्राउन' को विश्व कीर्तिमान रच्नु र १६ जनवरी २०२१ मा हिउँदको कठिन समयमा केटु हिमालको पहिलो पटक सफल आरोहण गर्ने १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्नुका उनका ऐतिहासिक र अविस्मरणीय उपलब्धिहरू हुन्। 

निर्मल पुर्जाको यस असामयिक निधनपछि गिनिज वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले दुःख व्यक्त गर्दै भनेका छन्, ‘निम्सले मानव शरीरले गर्न सक्ने क्षमताको सीमालाई निरन्तर अगाडि बढाइरहे र पर्वतारोहण क्षेत्रमा यस्तो शैलीको नेतृत्व गरे जसले उनलाई मात्र नभई समग्र आरोही समुदायलाई नै नयाँ चुनौती दियो।’ उनी थप्छन्, ‘शेर्पा गाइड र सहयोगी (भरिया) हरूले पुर्‍याएको अविश्वसनीय योगदानको कदर र समर्थन गर्ने उनको प्रतिबद्धता सधैँ एक अमिट विरासतका रूपमा रहनेछ।’ 

निम्सदाइ हाल विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोस्रो पटक आरोहण गर्ने ऐतिहासिक यात्रामा थिए। उनको अर्को ठूलो महत्त्वाकांक्षा ‘ह्याट-ट्रिक च्यालेन्ज’ पूरा गर्ने थियो, जसलाई उनले आफ्नो ब्रान्ड ‘निम्सदाइ’ मार्फत प्रवर्द्धन गरिरहेका थिए। यसलाई पर्वतारोहण इतिहासकै सबैभन्दा ठूलो र साहसिक चुनौतीको रूपमा परिकल्पना गरिएको थियो, जसअन्तर्गत उनी विश्वका ती सबै १४ वटा हिमाल तेस्रो पटक आरोहण गर्न चाहन्थे।

प्रकाशित: १७ श्रावण २०८३ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App