१ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

उक्लिँदो उमेर, एक्लिँदै मन

निबन्ध

जापानको इचिकावा चिडियाखानामा रहेको सानो बाँदर “पन्चकुन” का भिडियोहरू अहिले सामाजिक सञ्जालमा निकै व्यापक भइरहेका छन्। हेर्दा फुर्तिलो र चञ्चले देखिने पन्चकुनका ती दृश्यहरू रमाइला मात्र होइनन्, मन रुवाउने गरी अत्यन्त मार्मिक पनि छन्। हजारौँ मानिसहरू उसको चन्चलेपन हेर्न मात्र होइन, उसले भोगिरहेको पीडालाई आत्मसात् गर्न पनि पुगिरहेका छन्। करिब नौ महिनाको पन्चकुन आफ्नै समूहबाट अलग्गिएको देखिन्छ। बेलाबेला हुने तिरस्कार र प्रताडनाबीच उसले समूहभित्रै बसेर पनि एकाकीपन बिताइरहेको छ।

चिडियाखानाका स्याहारकर्ताहरूले दिएको नरम खेलौनालाई कहिले छातीमा टाँसेर, कहिले हातले तान्दै, एक्लै कुनै कुनामा बसेर उदास आँखाले हेरिरहने पन्चकुनमा धेरैले आफ्नै पीडा देखेका छन्। यति सानो उमेरमै उसले अनुभव गरेको हताशा, अपमान, भय र बाँच्नका लागि गरेको दैनिक संघर्षका दृश्यहरूले कसैको पनि मन सजिलै द्रवित बनाउँछन्। पन्चकुनको कथा एउटा जनावरको कथा मात्र होइन; यो हाम्रो समाजका धेरै मानिसहरूको पीडाको प्रतिविम्ब पनि हो - जहाँ उनीहरू मौन रूपमा यस्तै यथार्थ बाँचिरहेका छन्।

वास्तवमा एकाकीपन र विसाउन नसकिने दुःख जीवनमा जुनसुकै बेला आइपर्न सक्छ। दुःखले उमेर पर्खँदैन तर उक्लिँदो उमेरसँगै यसको भार झन् गहिरो र बोझिलो बन्दै जान्छ। यही यथार्थ हामी मानिसहरूको जीवनमा अझ स्पष्ट रूपमा देखिन्छ।

परिवारमा बच्चाहरू हुर्केपछि आ–आफ्नो बाटो लाग्छन्। पानी सधैँ भिरालोतिर बगेझैँ, पछि उनीहरू आफ्नै परिवार र जिम्मेवारीभित्र व्यस्त हुन्छन्। पछाडि छोडिन्छन् - उमेरले उकालो लागेका आमाबुवा र उनीहरूको मन भत्काउने एक्लोपन।

दुःखी हुन एक्लो नै हुनुपर्छ भन्ने पनि होइन। ठूलो परिवार र पर्याप्त सम्पत्ति भएका मानिसहरू पनि एकाकीपनको पीडाबाट अछुतो रहँदैनन्। वास्तवमा, परिवार भएर पनि एक्लो हुनु सायद अझ बढी पीडादायक हुन्छ।

म एक वृद्धलाई चिन्छु। छोरा–बुहारी अफिस निस्केपछि मात्र उनी बिस्तारै आफ्नो दिनचर्यामा फर्किन्छन्। दिउँसो आफ्नो पाल्तु कुकुरलाई आँगनतिर डोर्‍याउँछन्, सुम्सुम्याउँछन् र उसैसँग कुरा गर्दै आफ्नो एकाकीपन साटिरहन्छन् - “टमी, यता आइज, बस्, खाना खा।”

ती शब्दहरूमा केवल आदेश होइन, बाँड्न नसकिएको गहिरो एक्लोपन पनि लुकेको हुन्छ।

उमेरका ती मोडहरूमा अधिकांश वृद्ध बाहिर निस्कन र पहिलेझैं हिँडडुल गर्न समर्थ हुँदैनन्। निस्केर पनि कहाँ जाने? कोसँग जाने? आफूलाई बुझ्ने मान्छे भेटिनु झन् कठिन हुन्छ। उनीहरूको दैनिकी कोठा र कौसीमै सीमित हुँदै जान्छ।

अर्की एक महिला, जसले आफ्ना पति गुमाइसकेकी छिन्, अहिले एक्लै बस्छिन्। कहिलेकाहीँ उनका छोराबुहारी र नातिनातिना आउँदा घर भरिएको जस्तो हुन्छ। हाँसो, कुराकानी र चहलपहलले घर जीवन्त बन्छ। जब उनीहरू फर्किन्छन्, त्यही घर फेरि सुनसान हुन्छ। उनीसँग बाँकी रहने एकाकीपनलाई शब्दमा वर्णन गर्नु, देखे जत्तिको सजिलो पक्कै छैन।

केही दिनअघि मात्र चौरासी वर्ष पार गरिसक्नुभएकी आमाले मलाई फोन गर्नुभयो, “अचेल तँ त्यति साह्रो आउँदिनस्, आइरहने गर न।”

घरमा भाइबुहारी छन्, नातिनातिना छन्, सुविधाहरूको अभाव पनि छैन। तैपनि आमा सधैं एक्लो महसुस गर्नुहुन्छ। कोठाको टिभी चलेन भनेर गुनासो गर्दै हुनु हुन्थ्यो। सायद छोरीसँग आफ्ना स-साना समस्या पनि साट्न सहज लागेर भन्नुभएको होला। अरूलाई भनेर सुन्दैनन् भन्ने बुझाइ उहाँको मात्र होइन, धेरै आमाहरूको साझा अनुभूति हुन सक्छ।

छोराबुहारीको व्यस्तता अनि नातिनातिनाको मोबाइल र इन्टरनेटप्रतिको मोहका बीच, एक्लोपनमा रेडियो, टिभीलाई नै साथी बनाउनुपर्ने त्यो वृद्धावस्थाको पीडा भुक्तभोगीलाई मात्र राम्रोसँग थाहा हुन्छ। आफूले भावना साट्न नपाएको गुनासो त हुन्छ नै, घरका सदस्यहरूले कुरा बुझ्दैनन्, खाँदैनन् भन्ने उनीहरूलाई लाग्दै जान्छ। “सबै छन् तर मेरा छैनन्” भन्ने गढेको अनुभूति शब्दभन्दा परको पीडा हो।

शरीर र समयले साथ दिँदा घरपरिवार हाँकेर बसेकाहरू, जब तन र धन दुवैले साथ छोड्न थाल्छन्, त्यो परिवर्तन स्वीकार्न गाह्रो मान्छन्। घुँडा दुख्ने, कान कम सुन्ने, स्मरणशक्ति कमजोर हुने जस्ता शारीरिक असक्षमताबीच एउटै कुरा बारम्बार दोहोर्‍याउनु उनीहरूको ढिपी मात्र होइन, उमेरको स्वाभाविक सीमा पनि हो। कतिपयका एकोहोरोपन र आफ्नो गल्ति सहजै स्वीकार नगर्ने बानी- बूढाबूढीसँग सहजै कुरा नमिल्ने अर्का कारण हुन सक्छन्। यसले परिवारबीचको फाटो अझ बढाउन सक्छ।  

सबैका भावना र बुझाइ समान हुँदैनन्। यदि त्यस्तो हुन्थ्यो भने संसारमा तनाव किन हुन्थ्यो र? द्वन्द्व किन बढ्थे? वास्तवमा, वृद्ध मनहरूले धेरै ठूलो अपेक्षा राखेका हुँदैनन्। उनीहरूलाई चाहिन्छ - थोरै समय, केही शब्द र सँगै बसेर सुन्ने कोही। भोक लाग्दा खाना, बिरामी हुँदा उपचार र मन भारी हुँदा साथ - यी सामान्य आवश्यकताहरू नै उनीहरूका लागि ठूलो कुरा हुन्। यो चाहना राख्नु अस्वाभाविक पनि त होइन।

हाम्रो समाजमा ज्येष्ठ नागरिकहरूको लागि पर्याप्त संरचना र सुविधा अझै विकसित भइसकेको छैन। केही आश्रयस्थलहरू भए पनि तिनमा स्रोतको कमी छ र निजी वृद्धाश्रमहरू सबैका लागि सहज पहुँचमा छैनन्। त्यसैले धेरै वृद्धहरू आफ्नै घरभित्र एक्लोपनको जीवन बिताउन बाध्य छन्। यस्तो दीर्घकालीन एकाकीपनले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। उनीहरूलाई आफ्नै जीवन पनि बोझ लाग्दै जान्छ।  

जीवनको उकालो चढ्दै जाँदा मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा साथ, माया र समझदारी हो, तर विडम्बना - ठ्याक्कै त्यही बेला त्यसको अभाव हुन्छ। फलस्वरूप मन एक्लिँदै जान्छ र कहिलेकाहीँ आफ्नै जीवन आफैँलाई भार लाग्न थाल्छ। धन, सुविधा वा भीडले मात्र पनि एकाकीपन मेट्न सक्दैन। आवश्यक छ - हामीले आफ्ना वरिपरिका वृद्धहरूको मौन पीडालाई बुझ्नु, उनीहरूलाई सुन्नु र समय तथा साथ दिनु। यो केवल कर्तव्य मात्र होइन - मानवीय संवेदनशीलताको परिचय पनि हो।

किनकि आज उनीहरू जहाँ छन्, हाम्रो बाटो पनि त्यही हो; भोलि हामी पनि त्यहीँ पुग्नेछौँ। त्यही पीडा, त्यही निस्सासिँदो एकाकीपनभित्र थुनिनु नपरोस् भन्नका लागि आजैदेखि संवेदनशील हुन जरुरी छ। उकालो चढ्दै गएको उमेरलाई एकाकीपन होइन - माया र भरोसाको साथ चाहिन्छ। यो सत्य हामीले मात्र होइन, सन्ततिलाई पनि बुझाउनु जरूरी छ।

त्यसैले उक्लिँदो उमेरलाई सम्मान र साथ दिनु भनेको उनीहरूलाई जीवनप्रति आशावादी बनाउनु पनि हो।

प्रकाशित: २८ चैत्र २०८२ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App