बिहानको हिँडाइको क्रममा स्थानीय एकजना वृद्धासँग मेराे चिनाजानी भयो। मेरो र उनको संस्कार, संस्कृति र भाषा सबै भिन्न थियो। उनी पाकी र हाईप्रोफाइलकी थिइन्।
म पढेर केही जान्नेसुन्ने बन्न गोराहरूको देश पुगेको थिएँ। बिहान मलाई हतार गरेर कतै जान नपर्ने भएकाले स्वास्थ्य तन्दुरुस्त राख्न हिँड्न थालेको थिएँ। त्यही क्रममा मैले उनलाई भेटेको हुँ। बिहान वाकिङ आउटफिट लगाएर, मगमग अत्तरको वास्ना छर्दै, कुकुर डोर्याएर हिँडेको देखेँ। उनीहरू नचिनेका मान्छेहरूसँग हतपती बोल्दैनन् भन्ने मैले सुनेको थिएँ। तिनको सम्भ्रान्तता देख्दा असाध्य बोल्न मन लागेको थियो।
करिब एक हप्ता जति देखादेखी गरेपछि उनी बोलिन्। आफ्ना धेरै कुरा भनिन्। मेरो बारेमा पनि केही कुरा सोधिन्।
"हाइ, तिमी त फुर्तिलो केटा देखिन्छौ। स्वास्थ्य ठिक राख्नुपर्छ भन्ने चेतना पनि रहेछ। त्यसैले म तिमीसँग बोलेको। म न्युयोर्कबाट यता मुभ भएको हुँ। मेरो भूतपूर्व पति त्यहाँको असाध्य धनी व्यापारी छ। मभन्दा बढी उसलाई आफ्नो व्यापारको माया भएकाले मैले मेरो हकको आधा सम्पत्ति लिएर डिभोर्स गरें र बेग्लै स्टेटमा रमाएर एक्लै बसेकी छु।
म पचहत्तर वर्षकी मिलेनियर हुँ। फेसन सोहरूमा भाग लिने, बुटिक र पार्लरहरूमा जाने गर्छु। म ब्रान्डेड कम्पनीका सामान मात्र प्रयोग गर्छु। लञ्च, डिनर पनि म बाहिर नाम चलेका रेस्टुरेन्टहरूमा खान्छु। मेरा दुई छोरा बेग्लै स्टेटतिर छन्। मदर्स डेको दिन फोन गर्छन् बस्। उनीहरू पनि खुसी, म पनि खुसी! तिमी अर्कैदेशका हौ? यहाँ के गर्दै छौ?"
- म तपाईंको विकसित देशमा ज्ञान हासिल गर्न आएको हुँ।
- शनिवार साँझ खाली छौ?
किन सोध्छे यो बुढीले भनेर विचार गर्दै मैले जवाफ दिएँ, "खाली छु।"
उनले आफ्नो ब्यागबाट टिकट झिकेर मेरो हातमा राखिदिइन् र भनिन्, "राति आठ बजे फेसन सोको क्याटवाक छ। मैले पनि भाग लिएको छु। हेर्न आऊ है। डिनर पनि फ्री छ।"
प्रकाशित: ३ श्रावण २०८२ १३:२३ शनिबार





