खुइया ऐया! आवाज निकाल्दै लामो सुस्केरा फाल्यो बाघवीरले अनि टुवाक्कटुवाक्क लौरो टेक्दै गएर फलैचामा थ्याचै बस्यो।
काजीमान र गुमानसिंह चै अगाडि नै चौतारीमा आएर बसेका थिए। बाघवीरलाई देखेर काजीमानले उनैतर्फ हेरेर सोध्यो: हैन! बाघवीर दाइलाई पनि यो चौतारीमा नआई चित्त बुझ्दैन हगि?
बाघवीरले लामो स्वास तानेर फाल्दै भन्यो: यो बुढेसकालमा खै कहाँ पो जानु हौँ भाइ?
गुमानसिंहले कमिजको खल्तीबाट झुलो र चकमक अनि एउटा सानो दर्सिन ढुंगा टिपेर आगो निकाल्यो त्यसपछि लामपातेको सुर्ती बेरेर एक चुरुप तानेर धुवा आकाशतिर फाल्दै विचार गरेर भन्यो: हो नि! बाघवीर दाइको कुरा हामी यो उमेरमा कहाँ जानु।
बाघवीरले बोल्ने क्रमलाई निरन्तरता दिँदै भने: उहिले पो हामीले ठूला बडाको अर्ती उपदेश सुन्ने मान्ने गर्थ्यौ, अचेल तेस्तो नै छैन।
काजीमानले सही थप्दै बोल्यो: पहिला वोल्लो र पल्लो गाउँको मान्छेहरू बीचमा चिनापर्ची र बोलचाल हुन्थे अहिले के हो हो!
गुमानसिंहले अन्तिम चुरुप बिडी तानेर ठुटा मिल्काउँदै भन्यो: के हुन्थ्यो र अर्थोक आजकलको मान्छेहरू सबै घोप्टेहरू हुन्।
बाघवीरले सोध्यो: के हो त यस्तो?
गुमानसिंहले केही खुलाउँदै बोल्यो: दाइ! तपाईंको घरमा नै छन्। ओल्लो छेउ,पल्लो छेउ बस्ने घोप्टेर केको... हेर्ने नबोल्ने।
काजीमान फ्याटै बोल्यो : आजकल घोप्टे जमाना आएको छ।
बाघवीरले कुरा बुझेझैँ सोध्यो: के त्यो मोबाइल भनेको हो त?
गुमानसिंह र काजीमानले एकैसाथ भने: बल्ल बुझेछ बुढाले।
प्रकाशित: ३१ श्रावण २०८३ १०:३४ आइतबार





